काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय ढिलो सार्वजनिक हुँदा सरकारी कर्मचारीहरू अलमलमा परेका छन्। कार्यालय समय नजिकिँदै गर्दा मात्र निर्णय सार्वजनिक भएपछि धेरै कर्मचारी कार्यालय पुगिसकेका थिए, कतिले त हाजिरसमेत गरिसकेका थिए।
सामान्यतः सरकारी कर्मचारीहरू बिहान ९ बजेदेखि पौने दश बजेसम्म कार्यालय पुग्ने गर्छन्। आज पनि उनीहरू आफ्नो नियमित तालिकाअनुसार कार्यालयतर्फ गएका थिए। तर, बिहान ९ बजे बसेको मन्त्रिपरिषद् बैठकको निर्णय केही समयपछि मात्र सार्वजनिक हुँदा कर्मचारीलाई घर फर्कन बाध्य बनायो।
विशेष गरी सिंहदरवारस्थित मन्त्रालयमा आउने धेरैजसो कर्मचारी आफ्नो काम थाल्न तयार थिए। कतिपयले हाजिर गरेर काम सुरु गरेका थिए भने केही कर्मचारी बैठक र अन्य औपचारिकताका लागि तयारी गरिरहेका थिए। अधिकांश कर्मचारीहरू बाटैमा थिए । तर, बिदाको निर्णय सार्वजनिक भएपछि कार्यालयको माहोल बदलियो र कर्मचारीहरू कार्यालय छोडेर घर फर्किन थाले।
सरकारी निर्णय ढिलो सार्वजनिक हुँदा कर्मचारीहरूले समय व्यवस्थापनमा आएको समस्याप्रति असन्तोष जनाएका छन्। ‘यस्ता निर्णयहरू समयमै सार्वजनिक गरेको भए कम्तिमा यहाँसम्म पुगेर फर्किने दुःख त हुँदैनथ्यो, बिदा भएसी यता अफिसमा नि काम भएन, उतातिर पनि केही प्लान बनेन’ एक कर्मचारीले भने।
यसै क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले आफ्नो सामाजिक सञ्जालमा केही कर्मचारीहरूको फोटोसहित लेखेका छन्, “हामी त सेवा दिन तयारी अवस्थामा छौँ। पूर्वसभामुख दमननाथ ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु।”

आगामी दिनहरूमा आकस्मिक निर्णयहरूको प्रभावकारी व्यवस्थापनको आवश्यकताबारे सोच्न पर्ने देखिन्छ ।