काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् । महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै ‘प्रचण्ड’ले फोन गरेर बधाई दिएका हुन् ।
‘प्रचण्ड’सँगको टेलिफोन संवादमा रोहितले ‘प्रचण्ड’ मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए ।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा ‘प्रचण्ड’ गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए ।
‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो,’ ‘प्रचण्ड’ले भनेका छन्, ‘देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौँ ।’
अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादवले अखिल क्रान्तिकारीले महेन्द्र मोरङसँगै मोरङ जिल्लामा नयाँ इतिहास रचेको बताए । उनी क्रान्तिकारीबाट मोरङमा खटिएका चुनावी कमाण्डर हुन् । १३ वर्षयता उनी महेन्द्र मोरङ केन्द्रित राजनीतिमा छन् ।