काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले समाजमा द्वेष एवं उत्तेजना सिर्जना गर्ने खालका भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत पोस्ट, सेयर र लाइक नगर्न अनुरोध गरेको छ ।
प्रजिअ गणेश अर्यालले मंगलबार एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
खासगरी पुराना घटनाहरूसँग सम्बन्धित तथ्य र सामग्री तथा पछिल्लो समयमा वीरगञ्जको परिवेशलाई प्रतिकूल असर गर्ने तथा वीरगञ्जसँग नितान्त असम्बन्धित सामग्रीहरू सार्वजनिक भएको पाइएको प्रशासनको भनाइ छ ।
यस्तो कार्य प्रचलित कानुन बमोजिम दण्डनीय हुने भन्दै त्यस्ता सामग्री पोस्ट गर्ने, सेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोलिने गरी कमेन्ट गर्ने/गराउनेमाथि कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।
सामाजिक सद्भाव बिथोलिने सामग्रीहरू सामाजिक सञ्जालमा पोस्ट भएको भए यथाशीघ्र हटाउन सबैमा अनुरोध समेत गरेको छ ।
शनिबार हनुमान यात्राको क्रममा दुई समूहबीच झडप हुँदा वीरगञ्जमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो । जसका कारण स्थानीय प्रशासनले कर्फ्यु समेत जारी गरेको थियो ।
