काठमाडौँ । राष्ट्रिय किताबखानाको सेवा अब डिजिटल मञ्च ‘नागरिक एप’ मार्फत उपलब्ध भएको छ। आजैबाट निजामती अस्पतालसँगको सेवा अन्तरआबद्धता पनि विस्तार गरिएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार निजामती कर्मचारीहरूले अब ‘नागरिक एप’ प्रयोग गरी किताबखानाको सेवामा सहज पहुँच प्राप्त गर्न सक्नेछन्। साथै, निजामती अस्पतालको सेवासँग पनि विभागको अन्तरआबद्धता आजबाट सुरु भएको उनले बताए।
विगतमा भाइरस आक्रमणबाट प्रभावित भएको विभागको मुख्य प्रणाली ‘कर्मचारी सूचना प्रणाली’ लाई पुनः सञ्चालनमा ल्याउनुका साथै डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको महानिर्देशक पोखरेलले जनाए। उनले विभागको नेतृत्व सम्हालेको तीन महिनाभित्रै ‘एकल सम्पर्क बिन्दुबाट दुई घण्टाभित्र सेवा’ मोडेल लागू गरेका थिए।
‘बाँकी काम शून्य गर्ने’ अभियानमार्फत लामो समयदेखि थाती रहेका फाइलहरू टुंग्याउने प्रयास गरिएको र सेवाप्रतिको गुनासोलाई शून्यमा झार्ने लक्ष्य राखिएको उनले बताए। आगामी केही महिनाभित्र विभागका अधिकांश सेवाहरू घरमै बसेर प्राप्त गर्न सकिने ‘मुखरहित सेवा’ को अवस्थामा पुर्याउने योजना रहेको पनि उनले खुलाए।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको समन्वय र नगरपालिकाको सहयोगमा अनुप्रयोग प्रोग्रामिङ इन्टरफेस (एपीआई) सफ्टवेयरको विकास गरी नागरिक एप र निजामती अस्पतालसँग आजबाट अन्तरआबद्धता सुरु गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए।







