काठमाडौँ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा कार्यरत इन्जिनियरले बिदा असार २८ गतेदेखि मागेको भए पनि उनी असार २४ गतेदेखि नै कार्यालयमा अनुपस्थित भएपछि पालिकाको नियमित कामकाज प्रभावित भएको छ।
गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिममा पठाएको पत्रमा भनिएको छ, “बाफिकोट गाउँपालिकाका इन्जिनियर सेवा, सातौँ तहका कर्मचारी जितेन्द्र प्रसाद यादवले विशेष कारण देखाउँदै असार २८ गतेदेखि बिदा बस्ने प्रस्ताव पेस गरेका थिए। तर, उनले त्यसभन्दा अघि असार २४ गतेदेखि नै कार्यालय नआएपछि पालिकाको कामकाज ठप्प भएको छ ।”

पत्रमा लेखिएको छ, “पालिकामा समस्या परेकाले निजलाई कार्यालयमा उपस्थितिको लागि सहयोग गरिदिन अनुरोध गर्दछौँ। यदि उपस्थिति सम्भव नभएमा यसैगरी विभागीय जानकारी गराइदिनुहुन समेत जानकारी गराइन्छ।”
इन्जिनियर जितेन्द्रप्रसाद यादवले भने विशेष कारणवश २०८२ असार २८ गतेदेखि बिदा बस्ने प्रस्ताव गाउँपालिकामा पठाइसकेका छन्। तर, त्यसभन्दा अघि, २४ गतेदेखि नै उनी कार्यालयमा नआएपछि पालिकाका कामकाज प्रभावित भएको भन्दै गाउँपालिकाले समस्या समाधानका लागि पहल गर्न प्रशासनसँग अनुरोध गरेको हो।

यसैबीच नि.प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काले भने पालिकाले पत्र लेखिसकेपछि इन्जिनियर यादव सम्पर्कमा आएको बताए ।







