काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको भन्दै ११ कारण दिएर समर्थन फिर्ता लिएको जनाएको छ ।
जसपा नेपालको बुधबार बसेको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिसन तन्त्रमा लिप्त रहेको ठहर गर्दै सरकारलाई समर्थन गरिरहन नसक्ने बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जसपा नेपालको निष्कर्ष छ ।
‘जनतालाई सरकारले सुशासनको प्रत्याभूति गराउन नसक्नु, भ्रष्टाचार, अनियमितता, दण्डहीनता, कमिशनतन्त्र र बिचौलियाहरूको चलखेल नियन्त्रण गर्न नसक्नु, मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडी बढाउन नसक्नु, असन्तुलित र पूर्वाग्रही रूपले आ.ब.२०८२र८३ को बजेट ल्याउने कार्य गर्नु, संघीयता कार्यान्वयन गर्न कुनै ठोस प्रयास नगर्नु, कृषि, उद्योग, पर्यटन र जलस्रोतको विकास गरी गरिबी, बेरोजगारी जस्ता समस्याहरूलाई हल गर्न नसक्नु, स्वच्छ खानेपानी, शिक्षा, स्वास्थ्य आदि सेवाका क्षेत्रमा गुणात्मक सुधार गरी जनतामा सेवा प्रवाह गर्न नसक्नु, समानतामा आधारित न्यायपूर्ण समाज निर्माण गर्न मधेशी, आदिवासी जनजाति, दलित, महिला, पिछडा वर्ग, थारू, अल्पसंख्यक लगायत उत्पीडित समुदायहरूको राष्ट्रिय समस्याहरूलाई हल गर्न नसक्नु, मधेश, थरुहट, किरात-लिम्बुवान लगायतका आन्दोलनहरूका क्रममा झुठा मुद्दा लगाई बन्दी बनाइएका राजबन्दीहरूलाई रिहाइ नगर्नु, संविधान संशोधन गर्न हालसम्म कुनै प्रयास नगर्नु, कृषि विकास गर्न किसानहरूलाई कृषि बजार, सिँचाइ, मलखाद्य, बिउ विजन र किट्नाशक औषधीका साथै सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन नसक्नु र बेरोजगारी समस्या हल गर्न रोजगारीका अवसरहरू सृजना गर्न नसक्नु लगायत आदि कारणले केपी शर्मा ओली नेतृत्वको वर्तमान असफल भइसकेको सरकारलाई पार्टीले गर्दै आएको समर्थनको कुनै औचित्य एवं अर्थ नै नरहेको हुनाले उक्त समर्थन फिर्ता लिई अब उपरान्त विपक्षमा बस्ने निर्णय गरियो, ’जसपाले भनेको छ ।







