२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशदेखि विदेशसम्म : एक जागिरेको सृजनात्मक यात्रापथ

अ+ अ-

नेपालको पूर्वी पहाड ताप्लेजुङमा जन्मिएका महेशराज खरेल राष्ट्रिय वाणिज्य बैङ्कका सेवा निवृत्त कर्मचारी हुन् । २०७७ सालमा प्रकाशित उनको पहिलो कृति ‘मनको किरण’ कवितासङ्ग्रहले हाम्रो परिचय गरायो । उसो त हामी दुवैको पारिवारिक चिनजान भने धेरै अघि हजुरबुवाकै पालादेखिको रहेछ । हामी दुवैका बाजे पुस्ता ताप्लेजुङको ओसेमा छँदाखेरी एउटै धाराको पानी खाएर बसेका छिमेकी हुनुहुँदो रहेछ भन्ने कुरा मलाई पछि मात्र थाहा भयो । बाजेदेखि सुरु भएको हाम्रो गाउँले नाता आज आएर तेस्रो पुस्तामा फेरि गाँसिएको छ । मूलजरोमा कत्रो शक्ति हुँदोरहेछ हेर्नोस् त; ताप्लेजुङ भन्नेबित्तिकै यो मन बुरुक्क एकहातमाथि उफ्रिन्छ ।

२०७७ मा प्रकाशित कवितासङ्ग्रहपछि महेश दाजुको २०७९ मा फेरि अर्को किताब आयो । आत्मकथात्मक उपन्यास ‘यात्रा जिन्दगीको’ । उहाँको उक्त पुस्तकले सिङ्गो ताप्लेजुङलाई बोकेको छ । टङ्कण र प्रुफ रिडिङको भ्रममा दुई-तीन पल्ट नै मैले यो पुस्तक पढेँ । यी कृतिहरु आउनुभन्दा केही समयअघि पक्षघातको आक्रमणमा परेर उनको शरीरको एक पाटो नै राम्रोसँग नचल्ने भएकाले टङ्कणको कार्यमा मैले सहयोग गरेकी थिएँ । मृत्युले नजिकैबाट चिहाएर गएपछि उहाँमा एक किसिमको भय उत्पन्न भयो । त्यो थियो ‘मृत्युभय’ जो अवश्यम्भावी छ । उपचारपछिको प्राप्त पुनर्जीवनले मान्छे अजम्बरी हुन त नसक्ला तर जीवन समाप्त नभएसम्मको समयलाई सही सदुपयोग गर्न सकिन्छ । आफू विरामी अवस्थामा हुँदा नै अक्षरको मृत्यु कहिल्यै नहुने रहेछ भन्ने कुराको आत्मबोध भयो महेशराजलाई । त्यो सत्य पनि हो । त्यसैकारण उनले यो फाउमा पाएको बाँकी जीवनलाई सही सदुपयोग गर्दै लेखन कार्यलाई अघि बढाइरहे । उच्च मनोबल बोकेका उनै निर्भिक महेशराज खरेललाई आज नेपाली साहित्यिक जगत्ले राम्रो लेखक भनेर चिन्दछ ।

जीवनभोगाइका यर्थाथ क्षण, जागिरे जीवनबाट मुक्त भएपछिको एउटा स्वतन्त्र समयको सदुपयोग र स्वयम् उनको आफ्नो जीवनमा एक्कासी देखापरेको पक्षघातको घटनापछिका यि यावत प्रसङ्गहरु पाठकसामु ल्याउन साहित्यकै प्रमुख भूमिका रह्यो । यदि महेशराज खरेलले यी किताबहरु नलेखेका भए आज उनलाई कसैले पनि लेखकको रुपमा चिन्दैनथे होला, किताब नहुँदो हो त सायद हाम्रो पनि परिचय कहाँ हुन्थ्यो होला र !

हुनेखानेको परिवारमा समयले अचानक दु:खको आँधी मच्चाएपछि अनेक सङ्घर्षको भुमरीमा होमिएका खरेल परिवारको डरलाग्दो कथा त मैले उहाँको दोस्रो पुस्तक यात्रामा पढेकी थिएँ । दृढ मनोबल भएका मानिसलाई दु:ख र कष्टले, अभाव र सङ्कटले त्यति सजिलै परास्त गर्न नसक्ने रहेछ । उनै हिम्मतिला महेशराज खरेलको तेस्रो कृति फेरि पनि हामी पाठकमाझ आइसकेको छ । ‘देश विदेश’ नाम रहेको यो कृति चाहीँ नियात्रासङ्ग्रह हो । यसलाई ओरिएन्टल पब्लिकेशनले छापेको हो । यो सङ्ग्रहमा उन्नाइस वटा नियात्रा रहेका छन् । जीवनका सुरुवाती क्षणमा गरिएको कृषिकर्मदेखि, जागिरको खोजिका अनेकौँ चरणहरु अनि ती जङ्घारहरु पार गर्दै जागिरको अन्त्यसम्म आइपुग्दाका केही यात्राहरु उक्त पुस्तकमा समेटिएका छन् । ती उन्नाइस यात्रामा पनि कलकत्ताको यात्रा र एआइबिइएको स्वर्ण जयन्तीमा सहभागिता, भद्रपुरदेखि खरसाङ हुँदै दार्जिलिङ, दार्चुलाको खलङ्गाबाट दिल्ली हुँदै मसुरीसम्म, डोटी सिलगढीदेखि नैनीताल हुँदै महेन्द्रनगर, भुल्न नसकिने थाइल्यान्डको रमझम, यी वैदेशिक यात्रा बाहेक अन्य सबै देशभित्र गरिएका यात्रा हुन् ।

लेखकले यात्रामा भएका कुनै पनि घटना, संवाद वा त्यो क्षणलाई कुनै पालिस नगरीकन, तथ्य नलुकाइकन, कुनै फूलबुट्टा नभरिकन जस्ताको त्यस्तै प्रस्तुत गर्न सक्नु उनको सवल पक्ष हो । यो सङ्ग्रहको ‘आफ्नो भनाइ’मा उनले लेखेका छन् — यात्रा गर्दा केही स्थानमा आफ्नो निजी स्रोतको प्रयोग भए तापनि अधिकांशमा सरकार, बैङ्क र ट्रेड युनियनको स्रोत प्रयोग भएको छ । यसरी उनी पटक पटक आफ्नो पेशाप्रति नतमस्तक भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क, त्यसरी नै ट्रेड युनियन, गाउँ पञ्चायतको पहिलो जागिर, काठमाडौँ आएपछिको तथ्याङ्क विभागमा सुरु गरेको जागिर यात्राभरि लेखकलाई चिनाउने परिचयमा गनिन्छन् यी सबै ।

एउटा सुसम्पन्न परिवार विस्तारै तहसनहस हुन पुगेपछि आफ्नो थातथलो छोडेर बसाइँ हिँड्छ । पहाडमा बाँकी रहेको आफ्नो जे जति जायजेथा बेचबिखन गरी तराई झरेका खरेल परिवारले खेतिपाती रोजे । महेशराजलाई बेस्सरी पढ्ने हुटहुटी तर खेती कसले धान्दिने, हलो कोदालो समाउने को त ? भिन्न बस्न थालेका दुई दाजु घरदेखि टाढै थिए । उठबस गर्न नसक्ने बिरामी बुवा, साना भाइबहिनी सबै अभिभारा आमाका काँधमा चडाउन उनको मनले मानेन । तर तराईको गर्मीमा खेती किसानी गरेर सँधैभरि बस्न पनि त्यति सजिलो त कहाँ थियो र …तैपनि पढ्ने रहरलाई थुनछेक गर्दै त्यो मधेसको उखुम मुलुकमा उनी ६–७ वर्ष हलो कोदालो समातेरै बसे । त्यतिबेलासम्ममा प्राइभेट परीक्षा दिएरै भएपनि आइए पास गरिसकेका थिए उनले ।

एकदिन घरसल्लाह गरेर उनले घर छोडे । आफू जन्मेहुर्केको, देखेको, जानेको ठाउँ त्यही ताप्लेजुङ पुगे उनी कतै प्राइमरी स्कुलको शिक्षक हुन पाइन्छ कि भनेर जीवन गुजाराको विकल्प खोज्दै । त्यो यात्रामा उनले लेखेको सानो टुक्रा हजुरको लागि — फुङलिङ बजारमा हिमाली हावाको चिसो स्पर्शले मेरो शरीर रोमाञ्चित भएको बोध गरेँ मैले । त्यस क्षण पारि खोक्लिङ, साँघु, चाँगे, हाङपाङ मलाई नै हेरिरहेका थिए । हाङदेवा पर पहिरो बनेर सुतिरहेको थियो । तोक्मे डाँडामा सैनिकहरु परेड खेल्दै थिए । यो मेरो जीवनको महत्वपूर्ण घुम्ती, जहाँबाट जीवनको अर्को पाटो हिँड्ने मानसिक तयारी थियो ।

धेरै ठूला–ठूला सपना बोकेका थिएनन् उनले । घरबाट पाखा निक्लने र धेरै पढ्ने, यति मात्र । पढाइलाई निरन्तरता दिन र भोको पेट पाल्नका खातिर पैसाको आवश्यकता जरुरी थियो । पैसा नभएपछि पढाइलाई थाँती राखेर उनको पहिलो प्राथमिकतामा जागिर पर्यो । कुनै स्कुलमा पढाउन पाइन्छ कि भन्दै घर छोडेका महेशराजले ताप्लेजुङको एउटा गाविसमा सचिवको जागिर पाए । यसरी उनको जीवनमा जागिरको सुरुवात ताप्लेजुङ जिल्लाको आङ्खोप गाउँ पञ्चायतको सचिव पदबाट आरम्भ भयो ।

मानिसका चाहनाहरु पलपल फेरिइरहन्छन् । मानिस जहिल्यै सुखको मार्गतर्फ मात्र लम्कन चाहन्छ, तर सोचेको जस्तो मात्र पनि कहाँ हुन्छ र ? उनको जीवनमा पनि दु:खसुखका उकाली ओरालीहरु आइरहे । कष्टकर समयलाई पार लगाउँदै–लगाउँदै उनी आङ्खोप गाविसमा आइपुगेका छन् । पञ्चायत कार्यालय प्रधानपञ्चको एउटा थोत्रो दराजमा मात्र सीमित, उनलाई त्यो परिवेश फिटिक्कै मन परेन । फेरि उनी लामो समय खेतीकिसानीमा बसेका मानिस, आफ्नोलागि आफैँ निर्णयकर्ता, कसैको अधिनमा नरहेको, फुक्का जीवन, स्वतन्त्रशैली । जागिरे भएर, त्यो पनि मधेश घर रञ्जनीबाट हप्तौँ लगाएर पैदलै पैदल पहाडको अनकन्टार आङ्खोप गाउँ पञ्चायतको सचिव हुन कहाँ सजिलो थियो र ? पढ्ने रहरले उनलाई त्यहाँ पनि लामो समय टिक्न दिएन । यसरी जीवन चल्दैन, अझै पढ्नुपर्छ भन्ने सोचले गर्दा सात महीना जागिर खाएर उनी फेरि आफ्नै घरतर्फ लागे । आफ्ना बालाई मनपर्ने नेपाले भटमास एकपाथी र केही सौदापात खरिद गरेर उनी झरे मधेस ।

ताप्लेजुङबाट मेदिबुङ, देउलिङ्गेको ओरालो, तमोर दोभान, बाँजोगरा, नेसम हुँदै हिउँमा लड्दै, चिप्लिँदै, बाटोमा अरु बटुवासँग मिलेर बास बस्दै, छङ्गाछुर कहालीलाग्दो पहिरो छिचोल्दै हिँडेको हिँड्यै बसन्तपुर आइपुगेको यात्रा वर्णन पढ्दा मनै सिरिङ्ग हुन्छ । यसरी अनेक अप्ठ्यारा छिचोल्दै उनी घर पुग्छन् । एकदुई दिन घरमा बसेर उनी लाग्छन् अलि टाढाको यात्रामा, काठमाडौँसम्म । भविष्यको गोरेटो स्पष्ट नभएपनि मनमा बलेको चिरागको सानो झिल्को साथमा लिएर त्यसैको धिपधिपाउँदो उज्यालोमा उनले आफ्नो यात्रा बढाइरहे ।

यसरी उनी काठमाडौँ प्रवेश गर्नुभन्दा अगाडिको एउटा पाटो हजुरलाई सुनाउन झन्डै छुटेको । सचिव भएकै बेलामा उता पहाडदेखिकै कुरा, उनले कृषि बैङ्कमा लिखित परीक्षाका निम्ति फारम भरेका थिए । बाटोघाटोको सहजता नभएकै कारण अनेक अप्ठ्यारा छिचोल्दै धेरै दिन लगाएर बिराटनगरको परीक्षा केन्द्रमा कृषि बैङ्कको जाँच दिन पुगे । तर परीक्षकले थोरै ढिलो भयो भन्दै ढोकैबाट फर्काइदिए । यसरी बाटामा आइपरेका अनेक समस्याले गर्दा जाँच दिन नपाएको बेलिविस्तारले पाठकलाई नराम्रो लाग्छ । त्यो परीक्षामा सामेल हुन नसकेपछि उनी सारै निरास भए । त्यसपछि घरमा सल्लाह गरिकन काठमाडौँमा रहेका आफन्ती भीम दाइ र लीला दिदीको डेरामा पुगे । काठमाडौँको त्यै डेरामा पहिलो पटक प्रेशरकुकर देखेको, कुकरले सिट्ठी हान्दा तर्छेको, बाटाभरि मान्छे नै मान्छे देखेर छक्क परेको यी सबै कुराहरु सम्झेका छन् उनले यो नियात्रामा ।

यता काठमाडौँ आएपछि जहाँ जति विज्ञापन खुल्छ, ती सबै ठाउँमा फारम भरिरहे उनले । रत्नराज्य क्याम्पसमा बी.ए. अध्ययन सुरु गरे । यसरी उनको जीवनमा एकपछि अर्को गरेर उज्याला ढोकाहरु खुल्न थाले । उनी एक ठाउँमा लेख्छन् — म क्याम्पस पढ्न नपाएको मानिस । पढ्न पाएँ । पढ्न पाउनु नै कत्रो ठूलो अवसर थियो मेरा निमित्त । पढ्ने अवसर गुमाएर फेरि त्यो मुकाम हासिल गर्नु भनेको राष्ट्रियता गुमाएको नागरिकले फेरि राष्ट्रियता पाएझैँ को अवस्था हो, त्यो खुशी शब्दले बोक्न सक्दैन । काठमाडौँले महेशराजलाई पढ्ने अवसर दिलायो, जागिरे बनायो । त्यति मात्र कहाँ हो र, चर्चित नेता पनि बनाएरै छोड्यो । उनी तथ्याङ्क विभागका कर्मचारी, त्यसपछि राष्ट्रिय बैङ्कका कर्मचारी, ट्रेड युनियन महासचिव साथै ट्रेड युनियन संघका विभिन्न आन्दोलनका संयोजक पनि भए ।

जागिरे जीवनमा धेरै ठाउँ पुगेका उनी आन्तरिक लेखापरीक्षण कार्य गर्न सिमिकोट गएको यात्रा विवरण अति सुन्दर छ । मन लाग्ने बित्तिकै पुग्न नसकिने त्यस्ता ठाउँहरुको लेखले मलाई असाध्यै रोमाञ्चित पार्छ । आफ्नै देशभित्रका यस्ता दुर्गम ठाउँहरुको विस्तृत वर्णनकै कारण पनि हुन सक्छ, मलाई नियात्रा विधा औधी मनपर्छ । साक्षात भगवान् प्रकट भएर मलाई वरदान माग् भनेछन् भने, नेपालका हिमाली र पहाडी मुलुक घुमाइदेऊ प्रभू भन्छु भनेर बस्या छु । हेरौँ ! कहिले आउँछ त्यो समय … उमेर नढल्कँदै आए हुन्थ्यो केरे ! चालीस कटेपछि बल्ल ताप्लेजुङ देखेँ, यात्रा संस्मरण लेखेर छाप्ने कहिले हो ? पत्तो छैन । यसरी पुस्तक समीक्षा गर्दागर्दै मेरो जोवन बितेर जान लागिसकेको । तनाव छ हौ जीवनमा ।

अब, मसँग एकैछिन आउनुहोस् सिमिकोट घुम्न जाऔँ ल ।
हुम्ला जिल्ला नेपालको तिब्बतसँग जोडिएको जिल्ला हो । यो जिल्लाको पूर्वमा मुगु, दक्षिणमा बाजुरा र मुगु, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पश्चिममा बझाङ र तिब्बत पर्दछन् । हिउँ फुलेका पहाड नाघेर नेपालको अग्लो सदरमुकाम सिमिकोट पनि पुगेका छन् लेखक भन्ने कुरो त हामीलाई थाहा भैसक्यो । घुम्न मात्र होइन, उनीहरुको टोली आन्तरिक लेखापरीक्षण कार्य गर्न नेपलनगञ्ज हुँदै सिमिकोट पुगेको रहेछ । सिमिकोटको मौसमी अवस्थाका कारण प्राय: आवागमन बन्द भइरहने । त्यो विकट ठाउँमा हिँडेर पुग्न पनि धेरै नै सकस । बल्लतल्ल एयरपोर्टको मौसम खुलेको भएर हवाइजहाजबाट सिमिकोटको यात्रा तय गरेछ त्यो टोलीले । उनी लेख्छन्, हामी जहाजबाट उत्रियौँ । हेर्दा वरिपरि हिउँ नै हिउँका थुप्राहरु थिए । वरपर भुइँ र घरका छानामा हिउँ असरल्लै जमेको थियो ।

त्यहाँका स्थानीय मानिसहरुले सकुसल जाडो खपिरहेको देखेर ती मानिसको चाउरिएको कालो छालाको वीरत्वले हामीलाई गिज्याएको भान हुन्थ्यो । पर्याप्त पोषणको अभावले सुकेर शरीर र छाला कलेटी परेझैँ देखिन्थे तिनीहरु । राज्यले जतिसुकै रेडियो टेलिभिजनमा विकासको अलाप गरेपनि जीवनको तल्लो तहमा यिनीहरुको जीवनस्तर हाडे बोडीको काँडाझैँ कठ्याङ्ग्रिएको प्रष्ट हुन्थ्यो । हिउँ फुलेको आँगनमा अभाव र दु:खले थिलथिलो पारेका निमुखा नागरिकको आर्थिक र सामाजिक पक्षलाई यो नियात्राले थोरै भएपनि प्रष्ट्याएको छ । त्यहाँको चिसोले लेखकको निन्द्रा, भोक, प्यास सबै हराउँछ । हिमाली जिल्लाका होटलहरुमा चिसोले उब्जाएका कठिनाइका कारण सृजित अवस्थाले निम्त्याएको छटपटी पनि यो सिमिकोटे लेखमा उनले उल्लेख गरेका छन्— निन्द्रा नलाग्नु छुट्टै कुरा हो ।

निन्द्रा लागेर पनि भाग्नु अर्को कुरा हो । ब्लाङ्केट गन्हाएर अघि पिएको न्यानो पदार्थ सिनित्त निलिदियो । कहिले देखि धोएको थिएन कुन्नि ? धोउन पो कसरी ? धोएपछि महीना दिन सुक्नै लाग्दो हो । हावाको चिसो आद्रताले अझ चिसिँदो हो ब्लाङ्केट । कति वर्ष यसरी नै मानिसको अमिलो श्वासको उच्छवास पिएर हुर्किएका छन् यी ब्लाङ्केटहरु । रक्सी उत्रिएपछि बल्ल गन्ध चाल पाएछन् दाजुहरुले । आफैँ अनुमान लाउनोस् ल ! कति चिसो रहेछ सिमिकोट ।

नेपालमा गणतान्त्रिक व्यवस्था लागू भएको यति धेरै समय बितिसक्दा पनि हाम्रो देश नेपाल बेरोजगारी एवम् भ्रष्टाचारले आक्रान्त छ । यो अवस्थामा पुर्‍याउने भ्रष्ट नेताहरु हुन् भन्ने निष्कर्ष समग्र नेपालीको जस्तै नियात्राकारको पनि छ । दार्चुलाको खलङ्गाबाट दिल्ली हुँदै मुसुरीसम्मको यात्रामा पनि लेखकले आफ्नो देशका नेता सम्झेर आक्रोश पोखेका छन् । आफ्नो र परिवारका सदस्यको पेट पाल्ने उपयुक्त विकल्प राज्यले दिन नसक्दा उब्जिएको सकसका कारण विवश नेपाली श्रमिकले अनाहकमा धेरै थोक गुमाउनु परेको छ । यो राज्य हारेको जस्तो निरीह र लाचार देखिन्छ । आफ्नो अस्तित्व रक्षार्थ आफैँ उठ्नु पर्छ । भत्काउनु पर्छ शोषण दमनका पर्खालहरु । निदाएको शासकको कन्सिरी उखेल्न जरुरी भएको छ देशमा । हाम्रा नागरिकले अन्य देशमा पाएको दु:खलाई नजरअन्दाज गर्ने र रेमिट्यान्सको हिसाबकिताब मात्र गरेर कहिलेसम्म बस्ने हो ? सरकारले बुझ्न जरुरी भइसकेको छ ।

बैङ्ककमा दिइएको तालिमले केही हदसम्म शैक्षिक उन्नयन भएको ठहर छ लेखकको । मूलभूत रुपमा थाइल्यान्डको बैङ्कक, पटाया र फुकेटको रमझम, भौगोलिक अवस्था, त्यहाँका राजनीतिक एवम् केही धार्मिक सांस्कृतिक परिवेश, नेपालीको उपस्थिति, उनीहरुको व्यवसाय र भाषा साहित्यका विषयमा आफ्नै आँखाले हेर्न, देख्न र दिमागले पर्गेल्ने अवसर उपलब्ध गराएकोमा राष्ट्रिय वाणिज्य बैङ्कप्रति आभार प्रकट गरेका छन् । यसैगरी कलकत्ताको यात्रा र एआइबिइएको स्वर्ण जयन्तीमा सहभागिता जनाएका उनले कलकत्तामा भूमिगत मेट्रो चढेको, अङ्ग्रेजले भारतमा शासन गरेका बखत विकासका पूर्वाधार बनाइदिएका, प्रशासनिक क्षमता विकास गरिदिएका कुरा पढ्दा अचम्म लाग्छ ।

यो नियात्रासङ्ग्रहभित्र रहेका यी लेखहरु सबै नियात्रा हुन् या आलेख पनि मिसिएका छन् त्यो थाहा पाउन त पाठक आफैँले यो पुस्तक पढ्नुपर्नेछ । एकदुई ठाउँमा लेखकले पाठकलाई कन्फ्यूजनमा पारेर छोडेका छन् जस्तै :— ‘गाउँको यात्रा र पानवाली बहिनीको क्यारेमबोर्ड’ यो लेखमा आधासम्म नियात्रा छ फेरि अन्त्यमा कथा जस्तो भएर टुङ्गिएको छ । लेखक विभिन्न मन्दिर पुगेका लेखमा भने एउटै वाक्य बारम्बार दोहोरिएको छ — बाम विचारधारा बोकेर हिँडेका लेखक महेशराज खरेल साथीसँग विभिन्न धार्मिक स्थल पुगेका छन्, भलै उनी मन्दिरभित्र पस्दैनन् ।

प्रकृतिको सुन्दरतालाई दृश्यपान गर्न पुगेको भन्छन् । आ–आफ्नो विचारमा मान्छे हिँड्न स्वतन्त्र छ, तर मन्दिर देख्नेबित्तिकै देवकोटाको “कुन मन्दिरमा जान्छौ यात्री” कविताका हरफ दोहोर्‍याइरहँदा पाठकलाई बोरिङ हुन्छ जस्तो लाग्छ मलाई । पढ्दै गयो लेखक फेरि मन्दिर पुगे, अब यै हरफ लेख्छन् भन्ने कुराको आभाष पाठकलाई भैहाल्छ । पाथिभारा मन्दिर जाँदाका कतिपय प्रसङ्गहरु असाध्यै रमाइला पनि छन् । उनी लेख्छन्, देशविदेशबाट पाथीभारा देवीको दर्शनका निमित्त मानिसहरु आउने गर्छन् । म मेरै जन्मस्थान जिल्लाको प्रख्यात पाथीभाराको भौतिक अवस्था नहेरी फर्कने कुरा पनि भएन । हुन त म अलौकिक शक्त्तिप्रति विश्वास गर्ने मानिस होइन । म मेरै मनको मन्दिरको पुजारी हुँ । आस्था, अनास्था जे भएपनि आत्मिक पक्ष बाहेकका अलौकिक शक्त्तिलाई मैले कहिल्यै मानिनँ । अरुको आस्थालाई भाँजो पनि हालिनँ ।

यी भनेका झिनामसिना कुरा हुन् । मलाई मन नपरेका कुरा पनि अर्को पाठकलाई मनपर्न सक्छ । किताब पढेपछि मनमा लागेको कुरा स्पष्ट रुपमा व्यक्त गर्न पाउनुपर्छ । कमी–कमजोरीलाई छोपछाप पारेर गुणगान गाउने प्रवृत्ति नमौलाओस् भन्ने लाग्छ मलाई । लेखकले यसरी आफ्ना यथार्थ र निजात्मकतालाई पाठकसामु ल्याउन सक्नु नै हर्षको कुरा हो । साहित्यकार महेशराज खरेललाई धेरै धेरै बधाई, साथै कलम निरन्तर चलिरहोस् भन्ने शुभकामना ।