सर्लाही। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य अशोक यादवलाई प्रहरीले ललितपुरबाट पक्राउ गरी सर्लाही पठाएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार यादवलाई मंगलबार ललितपुरबाट पक्राउ गरिएको हो।
मिश्रले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता रहेको कुटपिट तथा अंगभंगसम्बन्धी मुद्दामा जारी पक्राउ पुर्जीका आधारमा यादवलाई नियन्त्रणमा लिइएको बताए। आवश्यक कानुनी कारबाहीका लागि उनलाई सर्लाही पठाइसकिएको उनको भनाइ छ।
यसअघि पनि पक्राउ परेका थिए यादव
यादव यसअघि २०८२ साल असारमा तत्कालीन सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कासँग भएको विवादपछि समेत पक्राउ परेका थिए।
त्यतिबेला यादवविरुद्ध विभिन्न मुद्दा दर्ता भएका थिए। पूर्वाधार विकास कार्यालय मलंगवा, सर्लाहीले सार्वजनिक सेवामा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरेको थियो भने जिल्ला प्रहरी कार्यालय सर्लाहीले राज्यविरुद्धको कसुर तथा आपराधिक उपद्रवसम्बन्धी मुद्दा दर्ता गरेको थियो।
ती मुद्दामा कानुनी प्रक्रिया अघि बढेपछि यादव सर्लाही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए।
तत्कालीन एसपी खड्का र यादवबीच भएको भनिएको टेलिफोन संवादको अडियोसमेत त्यसबेला सार्वजनिक भएको थियो। उक्त संवादमा प्रयोग भएका शब्दलाई लिएर विवाद भएको थियो।
यादवले भने संवादका क्रममा तत्कालीन एसपी खड्काले पहिले आपत्तिजनक शब्द प्रयोग गरेको र त्यसपछि दुई जनाबीच भनाभन भएको दाबी गरेका थिए।
पक्राउको समयबारे फरक विवरण
ललितपुर प्रहरीका प्रवक्ता मिश्रका अनुसार यादवलाई मंगलबार बिहान करिब ९ बजे पक्राउ गरिएको हो। यादवका सहोदर भाइ अजय यादवले भने उनलाई ललितपुरस्थित निजी निवासबाट दिउँसो १२ बजे प्रहरीले पक्राउ गरेको बताएका छन्।
अजयले पक्राउका बेला कुन मुद्दामा नियन्त्रणमा लिइएको हो भन्नेबारे आफूलाई जानकारी नभएको बताएका छन्। यसरी पक्राउको समयका सम्बन्धमा प्रहरी र यादवका पारिवारिक स्रोतबाट फरक विवरण आएको छ।
यादवविरुद्ध सर्लाहीमा दर्ता रहेको पछिल्लो मुद्दाको थप विवरण तथा प्रहरीको धारणा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमलाई मंगलबार बेलुकी ६:५० बजे टेलिफोन सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन।
पूर्वप्रदेशसभा सदस्य हुन् यादव
सर्लाहीको कबिलासी नगरपालिका-१०, सलेमपुरका यादव मधेस प्रदेशका पूर्वप्रदेशसभा सदस्य हुन्। उनी २०७४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
हाल उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य छन्। यादवले सर्लाहीका सार्वजनिक निकायको सेवा प्रवाह, भ्रष्टाचार तथा अनियमितताका विषयमा सार्वजनिक रूपमा आवाज उठाउँदै आएका छन्। उनका गतिविधि तथा अभिव्यक्तिलाई लिएर स्थानीय प्रशासन र सार्वजनिक निकायसँग विभिन्न समयमा विवादसमेत हुँदै आएका छन्।






