काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रलाई अड्चन पारेको भन्दै यस्तो व्यवहार नगर्न आग्रह गरेका छन्।
आइतबार विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष डाँगीले यो कुरा बताए।
‘विद्युत प्राधिकरण र इप्पान मिलेर देशलाई समृद्धिको बाटोमा लैजाने अवसर पाएको समयमा प्राधिकरणले एक मात्र विद्युत खरिदकर्ता र वितरणकर्ताको हैसियतमा खपत बढाउन, निर्यात बढाउन र उत्पादन बढाउनमा ध्यान दिनुपर्छ,’ डाँगीले भने, ‘तर विडम्बना, प्राधिकरणको ध्यान विद्युत उत्पादन कसरी रोक्ने, पीपीए कसरी नगर्ने, आरसिओडीको म्याद कसरी नथप्ने, उत्पादित विद्युत कसरी नलिने, कन्टिजेन्सी कसरी कायम राख्ने र ऊर्जा उद्यमीहरूलाई कसरी दबाएर बहादुरी देखाउने भन्नेमा छ। यो सोच बदल्न जरुरी छ।’
ऊर्जा आयोजनामा साना-ठूला लगानीकर्ता गरी करिब ६५ लाख लगानीकर्ता जोडिएकोले ऊर्जा क्षेत्रका नीति-नियम परिवर्तन गर्दा र शेयर बजारका नीति-नियम परिवर्तन गर्दा यी ६५ लाख लगानीकर्ता, जो मतदाता पनि हुन्, त्यो कुरा सबै राजनीतिक दलले बुझ्नुपर्ने बेला आएको डाँगीले बताए।
नेपाली भएको नाताले हाम्रो पहिलो उद्देश्य नेपालकै हितमा हुनुपर्ने भन्दै डाँगीले एक अर्कालाई असहयोग गरेर बहादुरी देखाउन समय खर्च नगरी खपत बढाउन, प्रसारण लाइन बनाउन, विद्युत उत्पादन बढाउन र निर्यात बढाउनमा समय खर्च गरेर भावी पुस्तालाई सुन्दर र समृद्ध नेपाल हस्तान्तरण गर्नुपर्ने बताए।







