काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ महानगरपालिका चक्रपथ क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौँका विभिन्न स्थानमा लगाइएको कर्फ्यु मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी भएको हो।
सोमबार नै बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो। मध्यराति फेरि कर्फ्यु आदेश लम्ब्याएर मंगलबार बिहान ५ बजेसम्मका लागि तोकिएको थियो।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेशमा उल्लेख छ ।
कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शवबाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन्।
काठमाडौँ महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायण गोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भाग कर्फ्यू जारी भएको हो।
जेन जेड पुस्ताले काठमाडौँमा सोमबार गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ भने सयौँ घाइते छन्। प्रदर्शनका क्रममा काठमाडौँ उपत्यका बाहिर पनि दुई जनाको ज्यान गएको छ ।







