काठमाडौँ। नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोच्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखको छन्, ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।’
उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकारको शासकीय कार्यशैली र प्रवृतीहरुका बारेमा नागरिक तहमा प्रश्नहरू उठ्नु, त्यसप्रति असहमति जाहेर हुनु, खबरदारी गर्नु, विरोध वा आलोचना हुनु वा सरकारप्रति नै अरुचि प्रकट भई नयाँ सरकारको माग गर्नु लोकतन्त्रले दिएको सुन्दर अधिकार हो ।
तर, लोकतान्त्रिक हकको उपयोग गर्दैगर्दा न्यूनतम कर्तव्य, जिम्मेवारी र राष्ट्रप्रतिको जवाफदेहितालाई भने कसैले पनि भुल्नु हुँदैन भन्ने कुरा सदैव ख्याल राख्नु पर्ने उनको भनाइ रहेको छ ।
‘निरंकुशता र अधिनायकवादका विरुद्ध लोकतन्त्रका लागी जीवनभर लडेका राजनीतिक दलहरू र नेतृत्वका लागी सत्ता वा सरकार कुनै अलौकिक महत्वका कुराहरू होइनन्, यो त जनताले निर्धारण गर्ने या फैसला गर्ने विषयहरू हुन’ उनले लेखेका छन्।
मुख्य वा महत्वको कुरा मुलुकको स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र लोकतन्त्रको रक्षा तथा संवैधानिक प्रबन्धहरूको जीवन्तता भएको उनले बताएका छन् ।
संसदबाट लोकतान्त्रिक विधिमार्फत बनेको सरकारले जेन जेड पुस्ताको सडकको आवाजलाई सम्मान गरेर सरकारबाट मार्ग प्रशस्त गरिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘संसदीय प्रणाली र लोकतन्त्रमा जनादेश तथा संसद्को अंकगणित बमोजिम सरकार निर्माण हुने र विघटन हुने विषय स्वभाबिक र नियमित प्रक्रिया नै हो ।’
संसद्ले संविधान बमोजिम नयाँ सरकार निर्माण गर्नुपर्ने उनको आग्रह छ । यसको पहल र समन्वय राष्ट्रपतिबाट शिघ्रातिशिघ्र हुनुपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘मुलुकमा सिर्जना हुने हरेक राजनीतिक घटना र प्रश्नहरूको निरूपण तथा समस्याको वैध र सर्वस्वीकार्य समाधान मुलुकको संवैधानिक प्रबन्धहरूले निर्धारण गरेको लोकतान्त्रिक मार्गबाट मात्रै हुन सक्दछ ।’
क्षणिक आवेग, उत्तेजना हडबड वा अल्पकालीन सोचबाट नभएर देशको संविधान, मुलुकले अवलम्बन गरिरहेको व्यवस्था र प्रणाली बाट मात्रै देशको सुन्दर भविष्य निर्माण गर्न सकिने उनको विश्वास छ ।
‘यसबाट मात्रै हाम्रो अग्रजहरूले रगत बगाएर, लडेर जोगाएको देशको स्वाधीनता, सर्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको संरक्षण गर्न सक्छौ’ उनले भनेका छन् ।
तर, व्यवस्था र प्रणालीमाथि भयानक षड्यन्त्र हुन खोजिरहेको उनको भनाइ छ ।
‘यतिबेला हामी र हाम्रो राष्ट्रकाबिरुद्ध संविधान, व्यवस्था र प्रणालीमाथि नै खतरा उत्पन्न हुने गरी भयानक षड्यन्त्र हुन खोजिरहेको छ भन्ने तर्फ सचेत रहँदै नेपाल र नेपालीको सुदूर भविष्यका बारेमा सोचौँ’ उनले लेखेका छन्, ‘इगोका आधारमा आफ्ना आफ्ना निजी मामिलाहरूका बारेमा होइन ।’







