काठमाडौँ । नेकपा एमालेकी नेता बिन्दा पाण्डेले जेन जेडको आक्रोश समीक्षा गर्दै ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नु पहिलो कदम हुने बताएकी छन् ।
जेन जेड आन्दोलनले उठान गरेका विषय र उनीहरूको भावना बुझ्न हरेकले आफ्नो परिवार, आफन्त र छिमेकका त्यही समूहका युवाहरूको कुरा धैर्यतापूर्वक सुने मात्र पनि पुग्छ’ पाण्डेले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यस सन्दर्भमा राजनीतिक नेतृत्व सबैभन्दा बढी विवेकी बन्नु आजको आवश्यकता हो ।’
यस अन्तर्गतको पहिलो कदम ठूला दलका शीर्ष नेताले बाटो प्रशस्त गर्नुपर्ने उनको धारणा छ । ‘उनीहरूको भावनाको सम्वोधनस् ठूला दलका शीर्ष नेताप्रति उनीहरूको आक्रोशको समीक्षा गरी बाटो प्रशस्त पहिलो कदम हुनेछ,’ पाण्डेले लेखेकी छन् ।
बाँकी नेतृत्वले पनि आफू, आफू संलग्न पद र संस्थाको गहन समीक्षा गरेर नीति, विधि, नेतृत्वको रूपान्तरणसहित आम नागरिक बिच सहज स्वीकार्य बन्ने काममा ढिलाइ गर्न नहुने उनको सुझाव छ ।
सुशासनका वाधकहरूको पहिचान गर्दै आवश्यक कारबाहीको निरन्तर प्रक्रिया नै आमरुपमा लिनुपर्ने बाटो भएको उनको बुझाइ छ । उनी लेख्छिन्, ‘यसका लागि पहिलो पुस्ताको बिदाइ, अनि जेन-वाई र जेडलाई अग्रस्थानमा राखेर जेन-एक्सको मेन्टरिङको भूमिका स्थापित गर्दै अगाडि बढ्ने विषय अबको कामको केन्द्रबिन्दु बन्नु जरुरी छ ।’
युवाहरूको बुझाइ परिपक्व छ भन्ने कुरा देखिसकिएको उल्लेख गर्दै उनी थप्छिन्, ‘जिम्मेवारीमा सक्षम र कुशल बनाउने काम हाम्रो पुस्ताको पनि हो ।’







