काठमाडौँ । मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ। प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो २:३० बजेका लागि बैठक बोलाएको प्रशासन सिंहदरवार विशेष स्रोतले जनाएको छ। बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णयसँगै नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्तिको विषय पनि छलफलमा आउने बताइएको छ।
गृह सचिव रामेश्वर दंगाल उपत्यकाबाहिर रहेका कारण आजै निर्णय नहुने सम्भावना रहेको प्रशासनिक स्रोतले जनाएको छ। तर, प्रधानमन्त्रीले चाहेमा निमित्त सचिवमार्फत पनि निर्णय अघि बढाउन सकिने अवस्था रहेको बताइएको छ।
“निर्णय नै होला कि भन्ने त ग्यारेन्टी छैन, तर छलफल त हुने नै छ,” प्रशासन सिंहदरवार स्रोतले भन्यो ।
प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग २७ गते अनिवार्य अवकाशमा जान लागेकाले त्यसअघि नै नयाँ प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने अवस्था छ।
महानिरीक्षक नियुक्तिमा यसअघि झैँ राजनीतिक चलखेल र शक्तिकेन्द्रको दबाब अहिले त्यति नदेखिए पनि, भित्री तहमा दौडधुप र भनसुन भने जारी रहेको प्रशासनिक स्रोतले जनाएको छ।
यदि सरकारले थप चलखेललाई निष्प्रभावी बनाउन चाहेको हो भने आजकै बैठकमा निर्णय गर्नुपर्ने देखिन्छ।







