काठमाडौँ । राहदानी विभागले लामो समयदेखि देखिएको राहदानी अभाव समाधान गर्न अन्तरिम अवधिका लागि आवश्यक राहदानी पुस्तिका खरिदसम्बन्धी प्रक्रिया पूरा भएको जनाएको छ।
विभागका अनुसार वर्तमान आपूर्तिकर्ता इन स्मार्ट आइडेन्टिटी फ्रान्स एस.ए.एस. (पहिलेको आइडेमिया आइडेन्टिटी एन्ड सुरक्षा फ्रान्स एस.ए.एस.) सँग थप सात लाख राहदानी पुस्तिका र वैयक्तीकरणसम्बन्धी सेवाको आपूर्ति गर्ने सहमति भएको हो।
सम्झौताअनुसार तीन हप्ताभित्र पहिलो किस्ता प्राप्त हुने तथा त्यसपछि क्रमिक रूपमा राहदानी पुस्तिका आपूर्ति भइरहने बताइएको छ। पर्याप्त मौज्दात सुनिश्चित भएपछि विभागले बाध्यतावश लागू गरेको राहदानी उत्पादन कटौती हटाइएको जानकारी दिएको हो ।
विभागले अब राहदानी आवेदन तथा वितरण प्रक्रियालाई सहज बनाउन सेवा विस्तारका उपायहरू अघि सारेको छ। यसअन्तर्गत विभागले पहिले दैनिक एक हजारको दरले उपलब्ध गराउँदै आएको आवेदन समय–स्लट संख्या सेवाग्राहीको आवश्यकता अनुसार बढाउने भएको छ। विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकताअनुसार अतिरिक्त समय खटाई आवेदन दर्तादेखि राहदानी वितरणसम्मको सेवा सुव्यवस्थित र गतिशील बनाइने विभागले जनाएको छ।
विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिएका सेवाग्राहीका राहदानी पुस्तिका पनि पहिलेझैँ एकदेखि दुई हप्ताभित्रै छपाइ गरी सम्बन्धित नियोगमा पठाइने विभागको तयारी छ। यो व्यवस्थाले विदेशमा रहेका नेपाली नागरिकलाई राहदानी सेवामा विगतमा परेको जटिलता हटाइ सेवा प्रवाह नियमित हुने अपेक्षा गरिएको छ।
यस्तै, जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत आवेदन दिने सेवाग्राहीका लागि पनि स्पष्ट समयावधि तोकिएको छ। कार्तिक १५ गतेसम्म आवेदन दिएका सेवाग्राहीका राहदानी दुई हप्ताभित्रै छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइनेछ। सो मितिपश्चात् आवेदन दिने सेवाग्राहीका राहदानी भने विगतको प्रचलित प्रक्रियाअनुसार क्रमशः छपाइ तथा वितरण गरिने विभागले जनाएको छ।
हालको चुनौतीपूर्ण परिस्थितिका कारण सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति विभागले दुःख व्यक्त गर्दै सहकार्य र धैर्यका लागि सबैप्रति आभार प्रकट गरेको छ। विभागले अबको केही हप्ताभित्र सेवा पूर्णतः सहज हुने विश्वास दिलाएको छ।








