काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा अघिल्लो साता सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वैकुण्ठप्रसाद अर्यालको नाम सिफारिस गरेको हो । अर्याल का.मु. प्रदेश प्रमुख सचिव पदमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलालीमा कार्यरत छन् ।
निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन-८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता-(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको हो ।
मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएसँगै दुई सचिव पद रिक्त भएको थियो । जसमा पहिलो नम्बरमा रहेका तथा कायम मुकायम नै बनाई सुदूर पश्चिम पठाई सकिएका अर्याल स्वतः एकल बढुवा हुनेछन् भने अर्को पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस हुनेछ । जसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव तथा प्रवक्ता राजेन्द्रकुमार पौडेल पहिलो नम्बरमा रहेका छन् । सरकारले अहिलेसम्मकै बरियतापथलाई निरन्तरता दिएको अवस्थामा अर्को मन्त्रिपरिषद् बैठकबाट पौडेल पनि सचिवमा बढुवा हुनेछन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस अर्याललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।







