काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले आफ्नो पार्टीका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘वृद्धहरूको पार्टी’ भनेकोप्रति आपत्ति जनाएका छन् ।
सोमबार विराटनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
रावलले आफ्नो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहान बिहान हिँडेर देखाउन समेत ओलीलाई चुनौती दिए ।
‘उहाँ (केपी ओली) ले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौँ दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो,’ रावलले भने, ‘अब साँच्चै गर्ने नै हो भने त, हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विराटनगरमा हिँडौँ न त । कसले हिँड्दो रहेछ बढी । अनि के को बुढा ? के को तन्नेरी ?’
उनले यस्ता भ्रममा नपर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।







