काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधनका हकमा प्रदेश सरकारबाट जारी रुट परमिट संघीय सरकारले सच्याएको छ ।
यातायात व्यवस्था विभागले सबै प्रदेश सरकारलाई पत्र लेख्दै अन्तरप्रदेश जाँचपास तथा रुट इजाजत पत्र जारी गर्ने जिम्मेवारी संघीय सरकारको हुने स्पष्ट पारेको छ ।
सोही बमोजिम प्रदेश यातायात व्यवस्था कार्यालयबाट काठमाडौँ उपत्यकाका हकमा जारी इजाजत समेत संघले तोके बमोजिम हुने स्पष्ट पारेको छ ।
यस अनुसार अब काठमाडौँ उपत्यका बाहिरबाट प्रवेश गर्ने सार्वजनिक सवारीले कलंकी-सीतापाइला हुँदै बसपार्कसम्म मात्र आउन र जान पाउने भएका छन् ।
काठमाडौँ उपत्यका बाहिरबाट बनेपासम्म चल्ने सार्वजनिक यात्रुवाहक सवारीले कलंकी-सातदोबाटो-कोटेश्वर हुँदै बनेपासम्म आउन र जान सक्ने छन् ।
प्रदेश यातायात व्यवस्था कार्यालयहरूले नियमानुसार कायम भएका प्रदेशभित्रका बाटोमा मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।
अन्तर प्रदेशीय रूपमा सञ्चालन हुने सवारीका हकमा भने यातायात व्यवस्था विभाग अन्तर्गतका सवारी परीक्षण कार्यालयहरूले मात्र रुट इजाजत जारी गर्न पाउने समेत विभागले स्पष्ट पारेको छ ।
स्थानीय बाटोमा सञ्चालन हुने स्थानीय सार्वजनिक यातायातको सवारीको बाटो इजाजत जारी गर्दा प्रदेश र स्थानीय तहबीच समन्वय गरिनुपर्ने समेत विभागले जनाएको छ ।
यी व्यवस्था प्रतिकूल हुने गरी यसअघि बाटो इजाजत जारी गरेको भए त्योसमेत सच्याउन विभागले सबै प्रदेश सरकारलाई पत्र लेखेको छ ।
विभागका अनुसार कतिपय यातायात कार्यालयले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रुट इजाजत पत्र जारी गर्दा काठमाडौँ उपत्यकामा व्यापक ट्राफिक जाम समस्या देखिएको विभागको भनाइ छ ।
साना सवारी चल्न सक्ने कम चौडाइका बाटोमा समेत बढी सिट भएका सवारीलाई बाटो इजाजत दिँदा दुर्घटना बढेको समेत विभागले जनाएको छ ।
अब यातायात व्यवस्था कार्यालयबाट थप इजाजत जारी गर्दा सोही अनुसार गर्न संघीय सरकारले सचेत गराएको छ ।







