काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्।
उनले भने, ‘वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउनका साथसाथै केही संरचनामा सुधार गर्न सकिने पनि भएकाले त्यसमा पनि समय दिनुपर्ने देखिन्छ।’
सहसंयोजक नेपालले जेन जेड आन्दोलनको क्रममा आपराधिक गतिविधि गर्नेलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग समेत गरेका छन्। उनले विगतमा भएका त्रुटिहरू सच्याएर अघि बढ्ने काममा पनि ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।
सहसंयोजक नेपालले नेपाल विभिन्न सम्पदाहरूले सम्पन्न रहेकाले त्यसको उचित परिचालन गरी मुलुकलाई समृद्ध बनाउने विषयमा पनि सरकारले संकल्प लिएर नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
सहसंयोजक नेपालले देशको विकास गर्ने हुटहुटी अनुसारको योजना बनाएर अघि बढ्ने काममा पनि जिम्मेवार सबै पक्ष लाग्नुपर्ने बताएका छन्।







