काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका-६ खनालचोकका व्यवसायी कपिल न्यौपानेले बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थासँगको ऋणसम्बन्धी विवादका कारण सात वर्ष बितिसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । सहकारीको कथित ठगी, दबाब र हिंसात्मक गतिविधिका कारण आफ्नो व्यवसाय तहसनहस भएको र ज्यानसमेत असुरक्षित बनेको उनले बताएका छन् ।
न्यौपानेका अनुसार २०७४ मंसिर ७ गते सहकारीसँग भएको सम्झौताअनुसार उनले कित्ता नम्बर ५९० र ३१६ का पाँच रोपनी दुई आना जग्गा धितो राखेका थिए । सम्झौतामा ३० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराइने उल्लेख भए पनि अन्ततः सहकारीले जम्मा ३ लाख रुपैयाँ मात्रै कर्जा उपलब्ध गराएको पीडितको भनाइ छ ।
न्यौपानेले सहकारीका सञ्चालक श्याम श्रेष्ठले “काम गर्दै जानुस्, कर्जा मिल्दै जान्छ” भन्दै मौखिक आश्वासन दिए पनि पछि कर्जा नदिएको र कर्जा माग गर्दा सहकारीका पदाधिकारीले आफू र आफ्नो परिवारमाथि दुर्व्यवहार, धम्की र दबाब दिएको आरोप लगाए ।
तमसुकमा उल्लेख भएअनुसार उनले पशुपालन व्यवसायका लागि १३.५ प्रतिशत ब्याजदरमा ऋण लिएका थिए र २०७८ मंसिरभित्र सावा-ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्ने सहमति भएको थियो । उनले सबै रकम पनि चुक्ता गरेको बताए । तर पनि सहकारीका केही व्यक्तिहरूबाट पटक-पटक कुटपिट, धम्की, जबरजस्ती तमसुकमा दस्तखत गराउने र संस्थाको नाममा निरन्तर दबाब दिइएको उनले गुनासो गरेका छन् । उनले चार पटकसम्म आफूलाई जबरजस्ती तमसुकमा हस्ताक्षर गराइएको दाबी समेत गरेका छन् ।
“केही समय अघि होटेलको सटर फोडेर मलाई हिंसात्मक रूपमा निकालियो । मरणासन्न अवस्थामा पुगेँ, तर प्रहरी र स्थानीय प्रशासन मौन बसे,” न्यौपानेले भने ।
उनले आफूमाथि सहकारीले गरेको अत्याचारको बारेमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, सहकारी विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नगरपालिका कार्यालयलगायत विभिन्न निकायमा उजुरी दर्ता गराएका छन् । गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, सहकारी विभाग, अख्तियार, महिला आयोग, सरोकार केन्द्र, बनेपा नगरपालिका र पनौती नगरपालिकालगायत निकायमा समेत उजुरी दिइएको भए पनि हालसम्म ठोस कारबाही नभएको उनले बताए । न्याय नपाएपछि बाध्य भएर मिडियामार्फत आवाज उठाउनु परेको उनको भनाइ छ ।
२०७८ माघ २८ गते राति १०:३० बजे भक्तपुरको सूर्यविनायक नगरपालिकामा सहकारीसँग सम्बन्धित केही व्यक्तिहरूको समूहले कुटपिट गरी भौतिक संरचना ध्वस्त बनाएको आरोप पनि न्यौपानेले लगाएका छन् । उक्त घटनासम्बन्धी विवरण प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायमा दर्ता भइसकेको छ । तर न्याय भने हालसम्म पाउन नसकिएको उनले बताए ।
पीडितले पेश गरेका कागजातअनुसार पनौती नगरपालिकाले जिल्ला प्रहरी कार्यालय धुलिखेललाई घटनाबारे विस्तृत छानबिन गर्न पत्राचार गरेको थियो । सहकारी विभागले २०८२ वैशाख १४ गते बागमती प्रदेश र बनेपा नगरपालिकालाई पत्र पठाएको थियो । बनेपा नगरपालिकाले सहमति कार्यान्वयन नभए कानुनी कारबाही अघि बढाइने जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले पनि काभ्रेपलाञ्चोक प्रहरीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि पत्र पठाएको छ । तर त्यसबारेमा सम्बन्धित निकायले कुनै पनि कारबाही अगाडि बढाएका छैनन् ।
न्यौपानेले आफूले सहकारीको सम्पूर्ण रकम चुक्ता गरिसके पनि सहकारीका व्यक्तिहरूले घरमै आएर आफ्नो १३ महिने बच्चालाई समेत कुटपिट गरेको गम्भीर आरोप लगाएका छन् । यसबारेमा सहकारीका व्यक्तिसँग कुरा गर्न खोज्दा उनीहरू सम्पर्कमा आएनन् ।
यसैबीच, केही समयअघि मात्रै विन्दवासिनी बचत तथा ऋण सहकारी संस्थामा करिब ८ करोड रुपैयाँ हिनामिना, अपचलन तथा ठगी गरेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरिसकेको छ भने १४ जना अझै फरार रहेका छन् । पक्राउ परेका सबै व्यक्ति सहकारीकै कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
सहकारीको पक्षमा भएका न्यायिक निष्कर्षका सहमति र फैसलाका दस्ताबेजहरू :







