काठमाडौँ । महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने क्षेत्रमा वर्षापछि उत्पन्न हिलोका कारण प्रभावित भएको सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक सतहमा जम्मा भएको हिलो सुक्दै गएपछि बिहीबार अपराह्नदेखि सो खण्डमा दुवैतर्फका सवारी साधन नियमित रूपमा चल्न थालेका हुन्।
यसअघि बिहीबार दिउँसो करिब साढे दुई बजेसम्म विश्वकर्मा मन्दिरदेखि दुम्कीवास बजारसम्मको करिब चार किलोमिटर क्षेत्रमा लामो सवारी जाम देखिएको थियो, जसका कारण यात्रु तथा मालवाहक सवारीलाई आवागमनमा कठिनाइ भएको थियो।
बुधबार परेको हल्का वर्षाका कारण सडक चिप्लो र हिलाम्य बनेपछि उक्त खण्डमा अस्थायी रूपमा यातायात अवरुद्ध भएको जनाइएको छ। सडक अवस्था सामान्य बन्दै गएसँगै हाल यातायात सञ्चालन सहज भएको सम्बन्धित निकायले जनाएको छ।







