काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तुल्सीपुरमा राजा वीरेन्द्रको सालिकमाथि रास्वपा कार्यकर्ताद्वारा प्रदर्शन गरिएको घटनाप्रति आपत्ति जनाएको छ।
रास्वपा सभापति रवि लामिछाने दाङ भ्रमणको क्रममा तुलसीपुर नगरपालिकाको वीरेन्द्र चोकमा कार्यकर्ताहरूले सालिकमाथि चढेर प्रदर्शन गरेका थिए।
राप्रपा लुम्बिनी प्रदेश सचिव राजेन्द्र अधिकारीले जारी गरेको विज्ञप्तिमा यो कार्यलाई अपमानजनक र अभद्र ठहर गर्दै घोर भर्त्सना एवं खेद व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ कि यस्तो अराजकतापूर्ण व्यवहार कसैको आस्थामा असर पुर्याउन सक्ने भएकाले सहनयोग्य छैन। रास्वपाले आफ्नो धारणा स्पष्ट पार्दै माफी माग्न र भविष्यमा पुनरावृत्ति नगर्ने प्रतिबद्धता जनाउन आग्रह गरिएको छ।
त्यसैगरी, विज्ञप्तिमा निर्वाचनमा मतदाताले निर्धक्क मतदान गर्न सक्ने वातावरण सुनिश्चित गर्न सबै दलको जिम्मेवारी रहेको उल्लेख गरिएको छ। राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत उक्त विज्ञप्ति सेयर गरेका छन्।








