काठमाडौँ । प्रतिनिधि सभाका सदस्य आरेन राईले खोटाङ जिल्लाको सुरक्षा अवस्था सुदृढीकरण तथा प्रहरी संरचना विस्तारसम्बन्धी विषयमा गृहमन्त्री सुधन गुरुङसँग छलफल गरेका छन्।
खोटाङबाट निर्वाचित राईले गृहमन्त्रीसमक्ष जिल्लामा देखिएका सुरक्षा चुनौती, प्रहरी पूर्वाधार अभाव तथा सेवा प्रवाहसँग सम्बन्धित समस्याहरू प्रस्तुत गरेका हुन्।
उनले इलाका प्रहरी कार्यालय केपिलासगढी, अस्थायी प्रहरी चौकी छितापोखरी र भडारेघाटमा आवश्यक भवन निर्माणको माग राख्दै सुरक्षासम्बन्धी संरचनालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
यसैगरी, जन्तेढुंगा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बलको बेस स्थानान्तरण गर्नुपर्ने प्रस्ताव समेत उनले अघि सारेका छन्।
सांसद राईले जिल्लाभित्र सञ्चालनमा रहेका अस्थायी प्रहरी चौकीहरूलाई चरणबद्ध रूपमा स्थायी संरचनामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (पाथेका) र केपिलासगढी गाउँपालिका-७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापना गर्न आग्रह गरेका छन्।







