काठमाडौँ । योजनादेखि कार्यान्वयनसम्मको स्पष्ट मार्गचित्र, दिगोपनप्रति प्रतिबद्धता र नागरिकमुखी सेवाको प्रभावकारी अभ्यासका आधारमा बुढानीलकण्ठ नगरपालिका राष्ट्रिय स्तरमै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ। सहरी योजना तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको मुल्यांकनका आधारमा नगरपालिकाले ‘उत्कृष्ट नगरपालिका पुरस्कार-२०८२’ प्राप्त गरेको हो।
आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन, व्यवस्थित सहरी विस्तार, गुणस्तरीय सडक सञ्जाल निर्माण, सार्वजनिक पूर्वाधार विस्तार, वातावरणमैत्री योजना तथा सेवाप्रवाह सुधारलाई आधार मानेर नेपाल नगरपालिका संघ (मुआन) ले आफ्नो ३३औँ स्थापना दिवसका अवसरमा उक्त सम्मान प्रदान गरेको जनाएको छ। राजधानीमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले संयुक्त रूपमा पुरस्कार ग्रहण गरेका थिए।

पछिल्ला वर्षहरूमा बुढानीलकण्ठ नगरपालिकाले अव्यवस्थित सहरीकरण नियन्त्रण गर्दै ‘योजना अनुसारको विकास’ अवधारणालाई प्राथमिकतामा राखेको छ। सडक स्तरोन्नति, खानेपानी तथा ढल व्यवस्थापन, हरियाली प्रवर्द्धन र सार्वजनिक स्थल संरक्षणमा गरिएको लगानीले नगरको भौतिक संरचनासँगै नागरिकको जीवनस्तरमा सुधार ल्याएको देखिन्छ।
यससँगै, डिजिटल सेवाको विस्तार, प्रशासनिक प्रक्रियामा पारदर्शिता र सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रयासले सेवा प्रवाह थप प्रभावकारी बनेको नगरपालिकाको दाबी छ। सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र स्थानीय समुदायको सहभागितामा आधारित कार्यक्रमहरूले विकासलाई समावेशी बनाएको पनि उल्लेख गरिएको छ।
पुरस्कार ग्रहणपछि नगर नेतृत्वले यो उपलब्धि समग्र नगरवासीको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै आगामी दिनमा विकास यात्रालाई अझ व्यवस्थित, दिगो र समावेशी बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय तहबीच प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा बुढानीलकण्ठले अवलम्बन गरेको विकास मोडेललाई अन्य नगरपालिकाले समेत अनुकरणीय अभ्यासका रूपमा हेर्न थालेका छन्। योजनादेखि कार्यान्वयनसम्मको स्पष्ट दृष्टि, पारदर्शिता र नागरिक सहभागिताले नगरपालिकालाई उत्कृष्टताको उचाइमा पुर्याएको विश्लेषण गरिएको छ।
उक्त पुरस्कारसँगै बुढानीलकण्ठ नगरपालिका सुशासन, नवप्रवर्तन र दिगो विकासको उदाहरणीय नमुनाका रूपमा थप स्थापित भएको छ।







