काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढी बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
उद्योग विभागका तथ्यांक अनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता दर्ता भएको हो । सो लगानी ६१५ वटा परियोजनासँग सम्बन्धित रहेको विभागले जनाएको छ ।
परियोजना संरचनाको आधारमा हेर्दा साना उद्योगको हिस्सा सबैभन्दा बढी देखिएको छ । कुल परियोजनामध्ये ५९९ वटा साना उद्योग, ८ वटा मझौला र ८ वटा ठूला परियोजनामा लगानी प्रतिबद्धता प्राप्त भएको विवरणमा उल्लेख छ ।
क्षेत्रगत विवरण अनुसार कृषि क्षेत्रमा सबैभन्दा ठूलो लगानी प्रतिबद्धता आएको छ । यस क्षेत्रमा १६ परियोजनाका लागि २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ ।
पर्यटन क्षेत्रमा १६४ परियोजनाका लागि ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा ३८ परियोजनाका लागि २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ र सेवा क्षेत्रमा ४७ परियोजनाका लागि ३ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, सूचना प्रविधि क्षेत्रमा ३४६ परियोजनाका लागि १ अर्ब ४५ करोड ७२ लाख ३६ हजार रुपैयाँ लगानी प्रतिबद्धता दर्ता भएको छ । ऊर्जा क्षेत्रमा २ परियोजनामा २३ करोड ४२ लाख ५० हजार रुपैयाँ तथा खनिज क्षेत्रमा ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको विभागको तथ्यांकले देखाएको छ ।








