काठमाडौँ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूको सेयर मूल्यमा हुने दैनिक उतारचढावको अधिकतम सीमा विस्तार गर्दै १५ प्रतिशतसम्म पुर्याउने निर्णय गरेको छ। यसअघि कायम १० प्रतिशतको सीमा परिमार्जन गर्दै नयाँ प्रावधान लागू गर्न लागिएको हो।
नेप्से सञ्चालक समितिले कारोबार सञ्चालनसम्बन्धी विनियमावलीमा चौथो संशोधन गरी आगामी सोमबारदेखि नयाँ व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको जनाएको छ।
संशोधित प्रावधानअनुसार कारोबार समय सुरु हुनु अघि वा पछि ग्राहकले ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मार्फत दिएको खरिद-बिक्री आदेश समय प्राथमिकताका आधारमा राखिनेछ र कारोबार खुल्ने बित्तिकै क्रमशः प्रणालीमा प्रविष्ट हुनेछ। आदेश प्रविष्ट गर्दा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतको दायराभित्र रहनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी प्रारम्भिक कारोबार अवधिमा (१०:३० देखि १०:४५ बजेसम्म) अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत सीमाभित्र रहनुपर्नेछ। उक्त अवधिमा भएका कारोबारलाई नियमित सत्रमा समायोजन गरिने प्रावधान छ।
नियमित कारोबार सत्रका लागि मूल्य सीमा तीन प्रतिशत तोकिएको छ, जुन यसअघि दुई प्रतिशत थियो।
यसैगरी, परिसूचकमा आधारित सर्किट ब्रेक सम्बन्धी व्यवस्था पनि परिमार्जन गरिएको छ। अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से सूचक पाँच प्रतिशतले बढे वा घटेमा पहिलो सर्किट ब्रेक लागू भई १५ मिनेटका लागि कारोबार रोकिनेछ। पुनः कारोबार खुलिसकेपछि सूचक आठ प्रतिशतसम्म पुगेमा सो दिनको कारोबार पूर्ण रूपमा बन्द गरिनेछ।







