काठमाडौँ । संघीय निजामती सेवामा कार्यरत उपसचिवसहित थप तीन जना कर्मचारीले राजिनामा दिएका छन् । पछिल्लो समय सरुवा व्यवस्थापन र स्थानीय तहमा खटनपटन सम्बन्धी असन्तुष्टिकाबीच यी राजिनामा आएका हुन्।
डोल्पाका प्रमुख जिल्ला अधिकारीबाट पाँचथरमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा भएका उपसचिव भीम कोइरालाले राजिनामा दिएका हुन् । उनको पुस २८ गते डोल्पाबाट जिल्ला प्रशासन कार्यालय पाँचथरमा सरुवा गरिएको थियो भने हालै उनको राजिनामा स्वीकृतसमेत भइसकेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, अधिकृत चुडामणि के.सी.ले पनि राजिनामा दिएका छन् । उनी पोखरा अध्यागमन कार्यालयमा कार्यरत थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई चैत १९ गते सल्यानको कुमाख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरेको थियो।
त्यस्तै अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अधिकृत दुर्गा थापाले पनि राजिनामा दिएकी छन् । उनको सेवाअवधि केही महिना मात्र बाँकी रहेकामा उनले स्वेच्छिक रूपमा पद त्यागेको जनाइएको छ । उनको भने सरुवा गरिएको थिएन।
पछिल्लो समय स्थानीय तहमा कर्मचारी खटनपटनका विषयमा देखिएको अनिच्छा र असन्तुष्टिका बीच यस्ता राजिनामाका घटना बढ्दै गएका छन् । विशेषगरी प्रमुख प्रशासकीय अधिकृतका रूपमा स्थानीय तहमा जानुपर्ने सन्दर्भमा कर्मचारीहरूबाट आनाकानी भइरहेको देखिएको छ ।
निजामती वृत्तमा यस प्रवृत्तिलाई नकारात्मक रूपमा हेरिएको छ । तथापि, सरुवा प्रक्रिया कति निष्पक्ष र पारदर्शी रह्यो भन्ने प्रश्न पनि सँगसँगै उठिरहेको छ। केही कर्मचारीहरूले सरुवा प्रक्रियामा चयनमुखी निर्णय भएको आरोप लगाउँदै आएका छन्।
स्थानीय तहमा लामो समयदेखि कार्यरत कर्मचारीलाई पुन: त्यहीँ सरुवा गर्ने तर हालसम्म स्थानीय तहमा नपुगेका कर्मचारी भने उपत्यकाभित्रै सीमित रहने अवस्थाप्रति समेत असन्तुष्टि व्यक्त गरिएको छ। साथै, छोटो अवधिमै पटक–पटक सरुवा गरिने प्रवृत्तिलाई पनि प्रतिशोधपूर्ण र असंगत भएको भन्दै आलोचना भइरहेको छ।
यस सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा व्यवस्थापनलाई निष्पक्ष, सन्तुलित र प्रणालीगत बनाउनेतर्फ ध्यान दिन जरुरी छ ।








धेरै राम्रो आओस अझै राजिनामाको ओईरो ।कानून नमान्ने आफ्नै घरको जागीर मनमौजी गर्ने ,सुखसयल संग खाको जागीर , सरुवा हुदैमा राजीनामा आउनुले यीनीहरु को हालीमुहाली कति रैछ , यीनीहरुको असली मुखुण्डो उजागर भो राम्रो भो ।
चाकडी, चाप्लुसी र खुराफाती कर्मचारीलाई जहिले गाई न्याय नि बिगौती, गोरु न्याय नि बिगौती