काठमाडौँ । नेपाली सेनाले सेना तथा सेनाको नेतृत्वसँग सम्बन्धित तथ्यहीन तथा भ्रामक अभिव्यक्ति सार्वजनिक नगर्न सचेत गराएको छ। जंगी अड्डाले हालै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको हो।
सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा सेना र नेतृत्वलाई जोडेर फैलाइएका आधारहीन सामग्रीले आम नागरिकमा अनावश्यक त्रास सिर्जना गर्न सक्ने भएकाले यस्ता सूचना प्रसारण नगर्न तथा नगराउन अनुरोध गरिएको उल्लेख छ।
विज्ञप्तिमा पछिल्ला दिनमा देखिएका अराजक र गैरकानुनी गतिविधिहरूमाथि नियमित निगरानी भइरहेको जानकारी दिँदै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने स्पष्ट पारिएको छ।
त्यसैगरी सेनाले नागरिकलाई अफवाह र द्वेषपूर्ण टिप्पणीमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनाका लागि नेपाली सेनाको प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत प्रकाशित जानकारी मात्र आधार मान्न अनुरोध गरेको छ।







