काठमाडौँ । मौलिक नेपाली खाद्य परिकार गुन्द्रुक सम्बन्धी विस्तृत गुणस्तर मापदण्ड नेपाल राजपत्रमा प्रकाशन भएको छ । मापदण्डले उत्पादनदेखि प्रशोधन, भण्डारण, प्याकेजिङ र वितरणसम्मका सम्पूर्ण चरणलाई एकीकृत कानुनी ढाँचामा समेट्दै खाद्य स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्ने उद्देश्य राखेको छ।
नेपाली बजारमा निकै चलनचल्तीमा रहेको तथा अन्तराष्ट्रिय बजारमासमेत बढ्दो मागका बीच उपभोक्ता स्वास्थ्य सुरक्षा, उत्पादनको एकरूपता र अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापित गर्न मापदण्ड लागू गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।
राजपत्रमा उल्लेख भएअनुसार, उक्त मापदण्ड मानव उपभोगका लागि उत्पादन गरी बिक्री-वितरण गरिने सम्पूर्ण गुन्द्रुकमा लागू हुनेछ। ‘ब्रासिका’ जातका हरिया सागपात-रायो, तोरी, मुलाको पात तथा डुँडुलाई सफा गरी नुनरहित वा शुद्ध कल्चर प्रयोग गरी ल्याक्टिक एसिड किण्वन प्रक्रियाबाट तयार गरिने खाद्य पदार्थलाई गुन्द्रुकका रूपमा परिभाषित गरिएको छ। उत्पादन प्रक्रियामा किण्वनका लागि प्रयोग हुने सामग्री र उपकरणसमेत निर्दिष्ट गर्दै फलाम, एल्युमिनियम, तामा वा पित्तलका भाँडाहरू प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ भने तयार गुन्द्रुक घाम, सोलार ड्रायर वा मेकानिकल ड्रायरबाट सुकाउन सकिने प्रावधान राखिएको छ।
मापदण्डले गुन्द्रुकको गुणस्तरका अनिवार्य सूचकहरू निर्धारण गरेको छ। अधिकतम आर्द्रता १२ प्रतिशत, कुल खरानी १७ प्रतिशत र एसिड अघुलनशील खरानी १ प्रतिशतसम्म कायम गर्नुपर्नेछ भने अम्लता (ल्याक्टिक एसिडका रूपमा) न्यूनतम ०.८ प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ। ई-कोलाई जस्ता सूक्ष्म जीवाणुको उपस्थिति निषेध गरिएको छ। साथै, गुन्द्रुकमा जैविक तथा अजैविक बाह्य पदार्थ–जस्तै ढुंगा, धुलो, कीरा, बालुवा वा धातुजन्य फोहोर-मिश्रण हुन नपाइने तथा कृत्रिम स्वाद, रंग वा रासायनिक तत्त्व प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।
कन्टामिनेन्ट, विषाक्त पदार्थ तथा अवशेष सम्बन्धी मापदण्ड पनि निर्धारण गरिएको छ, जसअनुसार कीटनाशक अवशेष, हेभी मेटल्स लगायतका हानिकारक तत्त्वहरू सरकारले तोकेको सीमाभित्र हुनुपर्नेछ। उत्पादन, प्रशोधन, भण्डारण र वितरणका सम्पूर्ण चरणमा स्वच्छता सम्बन्धी मापदण्ड पालना अनिवार्य गरिएको छ। त्यस्तै, प्याकेजिङ खाद्य ग्रेडको हुनुपर्ने र लेबलमा उत्पादन विधि, प्रयोग गरिएको कच्चा पदार्थ तथा गुन्द्रुकको प्रकार (ताजा, सुक्खा वा सुकाइएको) स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रावधान राखिएको छ।
राजपत्रमा प्रकाशित उक्त मापदण्ड एक वर्षपछि लागू हुने व्यवस्था गरिएको छ, जसले उद्योग तथा उत्पादकलाई आवश्यक पूर्व तयारीका लागि समय दिने उद्देश्य राखेको देखिन्छ।
यस मापदण्ड प्रकाशनसँगै मौलिक खाद्य वस्तुहरूको उत्पादनमा एकरूपता कायम गर्दै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने र निर्यात प्रवर्द्धन गर्ने नीतिगत आधार सुदृढ भएको देखिन्छ। खाद्य क्षेत्रको नीतिगत तथा कानुनी सुधारका क्रममा पछिल्ला वर्षहरूमा खाद्य स्वच्छता नीति, २०७६ कार्यान्वयनमा ल्याउनुका साथै ५८ वर्ष पुरानो ‘खाद्य ऐन, २०२३’ खारेज गरी ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ लागू गरिएको सन्दर्भमा यसलाई त्यसैको निरन्तरताका रूपमा हेरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले गुन्द्रुकका लागि तयार गरिएको गुणस्तर मापदण्डले नेपाली रैथाने खाद्यलाई विश्व बजारमा व्यवस्थित रूपमा स्थापित गर्न आधार तयार गर्ने बताएकी छिन्। उनका अनुसार पछिल्लो समय नेपाली परम्परागत खाद्य वस्तुहरू अन्तर्राष्ट्रिय बजारमा विस्तार हुँदै गइरहेकाले तिनको मौलिक स्वाद जोगाउँदै गुणस्तरीय उत्पादन सुनिश्चित गर्न स्पष्ट मापदण्ड आवश्यक भएको हो।
डा. वैद्यले विश्व बजारमा नेपाली उत्पादनप्रति बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै गुन्द्रुकको उत्पादन, प्रशोधन र वितरण प्रक्रियालाई एकरूप बनाउन मापदण्ड तय गरिएको उल्लेख गरिन्। यसले उत्पादनको गुणस्तर सुदृढ पार्नुका साथै बजार व्यवस्थापन र उपभोक्तासम्मको पहुँचलाई समेत व्यवस्थित बनाउने अपेक्षा गरिएको उनको भनाइ छ।
उनका अनुसार मापदण्ड कार्यान्वयनमा आएपछि उपभोक्ताको स्वास्थ्य सुरक्षामा थप भरोसा कायम हुनुका साथै गुन्द्रुकको मौलिक पहिचान, विश्वसनीयता र निर्यात प्रवर्द्धनमा सकारात्मक योगदान पुग्नेछ।
नेपालमा गुन्द्रुक व्यापक रूपमा प्रयोग हुने खाद्य वस्तु मात्र नभई पछिल्लो समय विदेशमा समेत यसको माग विस्तार हुँदै गएको सन्दर्भमा यस्तो मापदण्डले दीर्घकालीन रूपमा उत्पादन र बजार दुवै पक्षलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
पछिल्लो समय गुन्द्रुकसहित छुर्पी, चिउरा, गुँदपाक, मस्यौरा र दालमोठजस्ता मौलिक खाद्य वस्तुहरूको अनिवार्य गुणस्तर प्रकाशन भई सकेका छन् । जसले व्यावसायिक उत्पादनमा शुद्धता कायम गर्न र निर्यात अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, खाद्य क्षेत्र सुधारका क्रममा सक्रिय भूमिका निर्वाह गर्दै आएकी डा. मतिना जोशी वैद्यलाई शुक्रवार मात्रै विभागबाट मन्त्रालयमा सरुवा गरिएको छ। पछिल्लो समय कानुन निर्माणसँगै बजार अनुगमनमा आक्रामक रूपमा उत्रिएकी उनको सरुवाले कर्मचारी वृत्तमा विभिन्न आशंका उब्जाएको छ।







