काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै कम्युनिस्ट आन्दोलनलाई अघि बढाउने अवस्था उनीसँग नरहेको दाबी गरेका छन्।
उनले माओवादी आन्दोलन नै अहिले संकटोन्मुख अवस्थातर्फ गएको टिप्पणी समेत गरेका छन्।
बुधबार आयोजित २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै पौडेलले माओवादी आन्दोलनको वर्तमान अवस्थाप्रति कडा टिप्पणी गरे।
उनका अनुसार सत्ता केन्द्रित सोच र चरम वामपन्थी झुकावका कारण माओवादी आन्दोलनले आफ्नो मूल दिशा गुमाउँदै गएको हो। उनले प्रचण्ड नेतृत्वको माओवादीले लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको र सत्ता केन्द्रित मानसिकता नछोडेकै कारण संगठन कमजोर बनेको दाबी गरे।
पौडेलले २०६६ सालतिर तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाउने सरकारी निर्णयका सन्दर्भलाई स्मरण गर्दै एमालेले त्यसमा असहमति जनाएको बताए। त्यसबेला सरकारबाट बाहिरिने चेतावनीसमेत दिइएको भए पनि प्रचण्ड नेतृत्वले आफ्नो अडान नछोड्दा अन्ततः सरकारको नेतृत्व नै गुमेको उनको भनाइ थियो।
उनले माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक प्रणालीलाई पूर्ण रूपमा स्वीकार गर्न नसक्दा र सत्ता नियन्त्रण गर्ने प्रवृत्ति कायम राख्दा आजको अवस्था आएको तर्क गरे।
पौडेलका अनुसार हिंसात्मक मार्गले कुनै दीर्घकालीन उपलब्धि दिन नसकेको र गणतन्त्र स्थापना लोकतान्त्रिक आन्दोलनकै परिणाम भएको हो।
उनले तत्कालीन घटनासम्बन्धी प्रसंग उल्लेख गर्दै प्रचण्डले सेना प्रमुख परिवर्तन गरेर आफू अनुकूल नेतृत्व स्थापित गर्ने प्रयास गरेको आरोप लगाए। उक्त कदमलाई एमालेले आत्मघाती हुने भन्दै पटक-पटक सचेत गराएको भए पनि सुनुवाइ नभएको उनले बताए।
उनका भनाइमा, प्रचण्डले आफू अगाडि बढिसकेको भन्दै पार्टीभित्रका सुझावलाई अस्वीकार गरेका थिए।
पौडेलले वर्तमान माओवादी आन्दोलन आफ्नो मूल विचारधाराबाट टाढा भइसकेको दाबी गर्दै माओवाद र जनयुद्धको अवधारणासमेत परित्याग भइसकेको बताए।
अहिलेको अवस्थामा सो दलसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने वैचारिक र संगठनात्मक क्षमता नभएको उनको निष्कर्ष थियो।
उनले एमालेले संगठनलाई पुनर्गठन गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशामा अघि बढाउने तयारी गरिरहेको समेत उल्लेख गरे।







