काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियाबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालसँग छलफल गरेका छन्।
बुधबार बसेको उक्त परामर्श बैठकमा दुवै मन्त्रीको उपस्थितिमा सांसदहरूले बजेट प्राथमिकता, वितरण प्रणाली र योजना छनोटसम्बन्धी विषयमा चासो व्यक्त गरेका थिए।
बैठकपछि सहभागी सांसद राजीव खत्रीका अनुसार मन्त्रीहरूले विगतमा देखिएको असमान ढंगले साना-साना मागहरूमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उनका अनुसार दुवै मन्त्रीले अब बजेट मागका लागि सांसदहरूले मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने र प्रक्रिया व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने तथा विकास आयोजनाहरूलाई समान पहुँचका आधारमा छनोट गरिने विषयमा पनि छलफल भएको खत्रीले जानकारी दिए।
मन्त्रीहरूले संघ, प्रदेश र स्थानीय तहबीचको भूमिका स्पष्ट हुने गरी बजेट संरचना तयार गरिने संकेत समेत गरेका छन्।







