काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाबापत प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । गृह मन्त्रालयले दोहोरो सुविधामा लिइएका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि ओलीले बा १३ च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधवार सरकारलाई फिर्ता गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधन तथा अन्य सुविधाको यथार्थ विवरण मागेपछि गृह मन्त्रालयले त्यसअनुसार प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ । पछिल्लो समय पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सुविधा लिएको तथा विभिन्न निकायबाट दोहोरो सुविधा उपयोग गरिरहेको विषय सार्वजनिक रूपमा आलोचनाको विषय बन्दै आएको थियो ।
प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख तथा पूर्वराष्ट्रियसभा अध्यक्षहरूले प्रयोग गरिरहेका सरकारी सुविधा र सवारी साधनको पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सो विवरण बुधबार कार्यालय समयभित्रै इमेलमार्फत पठाउन ताकेता गरिएको थियो ।
राज्यकोषको दुरुपयोग नियन्त्रण तथा सुशासन कायम गर्ने उद्देश्यले सरकारले पूर्वविशिष्टहरूको सुविधा विवरण कडाइका साथ माग गरेको जनाइएको थियो ।
लामो समयदेखि पूर्वविशिष्ट पदाधिकारीहरूले मापदण्डविपरीत सरकारी स्रोत-साधन प्रयोग गर्दै आएको भन्दै आलोचना भइरहेका बेला सरकारले यस विषयमा सक्रियता देखाएको हो ।
गृह मन्त्रालयबाट प्राप्त विवरणका आधारमा कानुनभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गराउने तथा सुविधा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने तयारी सरकारको रहेको स्रोतले जनाएको छ ।







