काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट निर्माणसँग सम्बन्धित पूर्वतयारी तथा प्राथमिकताबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सरकारका मन्त्रीहरूसँग छलफललाई निरन्तरता दिएका छन् ।
यसअघि बुधबार अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग छलफल सम्पन्न गरेका रास्वपा सांसदहरूले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग परामर्श गरेका हुन् ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा आगामी बजेटमा समेटिनुपर्ने विषय तथा क्षेत्रगत प्राथमिकताका विषयमा केन्द्रित छलफल भइरहेको जनाइएको छ ।
छलफलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश) तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल्सिना सहभागी रहेका छन् ।
सांसदहरूले बजेट निर्माण प्रक्रियामा क्षेत्रगत आवश्यकता, पूर्वाधार विकास र सेवा प्रवाहसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको बताइएको छ ।







