काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले सरकारसँग रोजगारी माग्दै आउने युवालाई तत्काल रोजगारी उपलब्ध गराउन नसकिएको स्वीकार गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले जेन जेड आन्दोलनमा घाइते भएका युवासहित रोजगारी खोज्दै दैनिक ठूलो संख्यामा मन्त्रालय पुग्ने गरे पनि हालसम्म आश्वासन बाहेक ठोस समाधान दिन नसकिएको बताएका हुन् ।
मन्त्री यादवका अनुसार मन्त्रालयमा दैनिक एक हजारभन्दा बढी युवा रोजगारीको माग लिएर आउने गरेका छन् । तर मन्त्रालयको प्रत्यक्ष जिम्मेवारी रोजगारी सिर्जना गर्नु नभई सीप विकास, रोजगारसँग जोड्ने र प्लेसमेन्ट सहजीकरण गर्ने मात्र रहेको उनले स्पष्ट पारे ।
उनले आगामी आर्थिक वर्षको बजेटमा घाइते युवाका लागि सीपमूलक तालिमको व्यवस्था गरिए पनि तत्काल रोजगारी सुनिश्चित गर्न कठिन रहेको बताए ।
मन्त्री यादवले राष्ट्रिय रोजगार कार्यक्रमको बजेटमा ठूलो कटौती भएको उल्लेख गर्दै पहिले करिब १३ अर्ब रुपैयाँ रहेको कार्यक्रम हाल १ अर्ब २० करोड रुपैयाँमा सीमित भएको जानकारी दिए । उनका अनुसार उक्त कार्यक्रममार्फत अब देशभर अधिकतम १७ हजार जनालाई मात्र १०० दिनको रोजगारी उपलब्ध गराउन सकिने अवस्था छ ।
उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनः नामकरण गरी राष्ट्रिय रोजगार कार्यक्रम बनाइए पनि बजेटमा वृद्धि नभई उल्टै कमी आएको बताए । साथै मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि समेत घटाइएको बजेट सिलिङ दिइएको उनले जानकारी गराए ।
मन्त्री यादवले सरकारले सीप विकास तालिमलाई विस्तार गर्दै निजी क्षेत्रसँग समन्वय गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रयास अघि बढाइरहेको बताए ।







