काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आफ्नो भूमिकाका कारण एमाले कमजोर नभई अझ सुदृढ हुने बताएका छन् ।
प्रतिनिधिसभामा व्यक्त गरेको धारणा सम्बन्धमा संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई लक्षित गरेर भइरहेका टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । एमालेको वर्तमान अवस्थाबारे उठाइएको प्रश्नमा उनले आफ्नो कारण पार्टी झन् माथि उठ्ने जिकिर गरे ।
संसद्मा उठाएका विषयलाई लिएर आएको आलोचनाबारे उनले राजनीतिक मुद्दामाथिको बहसलाई ‘छुच्चोपन’का रूपमा व्याख्या गर्न नमिल्ने बताए । संसद्मा अभिव्यक्त विचार हटाउने वा नराख्ने विषय सभामुखको अधिकार क्षेत्रभित्र पर्ने उनको भनाइ थियो ।
उनले सभामुखले निर्देशन दिए अभिव्यक्ति रेकर्डबाट हट्न सक्ने, अन्यथा यथावत् रहने बताए । साथै, संसद्मा दल र सांसदले आफ्ना धारणा राख्न पाउने अधिकार रहेको उल्लेख गर्दै त्यसप्रति प्रतिक्रिया आउनु स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे ।
उपाध्यक्ष बादलले सरकारको नीति तथा कार्यक्रम पूर्ण रूपमा अस्वीकार गर्नुपर्ने नभई आवश्यक संशोधन र पुनरावलोकन गर्नुपर्ने धारणा पनि राखे ।
नेपाली सेनाको भूमिकासम्बन्धी आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्दै उनले सुकुम्वासी बस्तीमा सेनाको परिचालन किन गरियो भन्ने प्रश्न उठाएको बताए । साथै, राष्ट्रिय संकटका बेला सेनाको भूमिकाबारे आफूले संसद्मा जिज्ञासा राखेको उल्लेख गरे ।







