काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले आगामी बजेटमार्फत सरकारले सबै नागरिकको समान विकासको अधिकार सुनिश्चित हुने गरी नीति ल्याउनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वाधार विकासमा वैज्ञानिक आधार, न्यायोचित वितरण र पारदर्शी विनियोजन प्रणाली अवलम्बन गर्न सरकारलाई आग्रह गरे ।
सांसद आचार्यले टरीगाउँ विमानस्थल देशको दोस्रो पुरानो विमानस्थल भएको उल्लेख गर्दै २०११ सालमा स्थापना भए पनि यसको स्तरवृद्धि र आधुनिकीकरण अपेक्षित रूपमा अघि नबढेको बताए ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको केही वर्षपछि सेवा प्रारम्भ गरेको उक्त विमानस्थल दाङसहित प्युठान, सल्यान, रोल्पा र रुकुम क्षेत्रका नागरिकको आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको छ । ती क्षेत्रमा जनसंख्या वृद्धि र सहरीकरण तीव्र भए पनि विमानस्थलको अवस्था भने सुधार नदेखिएको उनको भनाइ थियो ।
सांसद आचार्यले करिब १८ लाख नागरिकको आर्थिक समृद्धिसँग सम्बन्धित पूर्वाधारप्रति राज्यको पर्याप्त ध्यान नपुगेको आरोप लगाए ।
उनले दाङ र आसपासका जिल्लाका नागरिकलाई आर्थिक अवसर विस्तार गर्ने सरकारको स्पष्ट योजना नभए त्यसको कारण सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए ।
साथै, देशभरका नागरिकले आ-आफ्नो क्षेत्रका पूर्वाधार विकास किन पछि परिरहेको छ भन्ने विषयमा वैज्ञानिक, न्यायिक र पारदर्शी जवाफ खोज्ने अधिकार रहेको पनि उनले बताएका छन् ।







