काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी बजेटलाई उत्पादन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्द्धनमा केन्द्रित गरिने बताएका छन्।
प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा विराटनगरमा आयोजित आर्थिक वर्ष २०८३-८४ को बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रियामा मुख्यमन्त्री कार्कीले स्थानीय उत्पादन विस्तार, गरिबी न्यूनीकरण र पर्यटन क्षेत्रको विकासलाई बजेटको प्रमुख आधार बनाइने उल्लेख गरे।
उनका अनुसार प्रदेशका १३७ स्थानीय तहसँग समन्वय गर्दै ‘एक पालिका, एक कृषि उत्पादन’ कार्यक्रम अघि बढाइनेछ, जसले रोजगारीका अवसर सिर्जना गर्न र रैथाने उत्पादनलाई प्रोत्साहन गर्न सहयोग पुर्याउने छ।
उनले कृषि तथा दुग्ध क्षेत्रलाई दिइँदै आएको अनुदानले गरिबी न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको दाबीसमेत गरे। साथै, प्रदेशभित्र रहेका घरेलु उद्योगलाई प्रवर्द्धन गर्न कर्मचारी पोशाकसम्बन्धी प्रावधान आगामी जेठ महिनादेखि लागू हुने जानकारी दिए।
मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा ‘भिजिट कोशी’ कार्यक्रम सञ्चालन गरी विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए। साथै, २९ पालिकालाई समेटेर निर्माण भइरहेको पदमार्ग परियोजना सम्पन्न भएपछि स्थानीय उत्पादन वृद्धि, रोजगारी विस्तार र गरिबी न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप ले ग्रामीण क्षेत्रमा साना तथा मझौला उद्योगमार्फत उत्पादन वृद्धि हुने र ब्याज अनुदान कार्यक्रमले कृषि आधुनिकीकरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
त्यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनवार ले प्रत्येक प्रदेशसभा सदस्यलाई एक जिल्ला–एक साझा योजना अघि बढाउन आग्रह गर्दै खानेपानी तथा पहाडी-हिमाली क्षेत्रबाट हुने बसाइसराइ रोक्ने कार्यक्रम आवश्यक रहेको बताए।
मुख्य सचिव राजेन्द्रकुमार पौडेल ले रोजगारी, आयआर्जन, स्वास्थ्य र शिक्षामा सबै नागरिकको पहुँच सुनिश्चित हुने गरी बजेट निर्माण हुने विश्वास व्यक्त गरे।
मन्त्रालयका सहसचिवले प्रदेशको आर्थिक तथा सामाजिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। छलफलमा सहभागी प्रदेशसभा सदस्यहरूले पर्यटन विस्तार, कृषि आधुनिकीकरण तथा पहाडी-हिमाली क्षेत्रमा बसाइसराइ न्यूनीकरणका लागि विशेष कार्यक्रम आवश्यक रहेको सुझाव दिएका थिए।







