काठमाडौँ । नेपाली काँग्रेसले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विरुद्ध गम्भीर प्रकृतिका प्रश्न उठे पनि त्यसबारे सम्बन्धित निकाय र पक्ष मौन रहेको भन्दै आपत्ति जनाएको छ। पार्टीले सरकारभित्रै देखिएको दोहोरो व्यवहारप्रति समेत प्रश्न उठाएको छ।
प्रतिनिधि सभामा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विगत र वर्तमान परिस्थितिको तुलना गर्दै मन्त्रीहरूबारे उठेका प्रश्नमा फरक व्यवहार देखिएको टिप्पणी गरे। उनका अनुसार अघिल्लो चरणमा केही मन्त्रीबारे प्रश्न उठ्दा तीव्र प्रतिक्रिया देखिने गरे पनि अहिले अर्थमन्त्रीसम्बन्धी विवादमा भने चुप्पी देखिएको छ।
आङ्देम्बेले रोष्ट्रमबाट बोल्दै “हिजो मन्त्रीका विषयमा प्रश्न उठ्दा सबै आगो भए, आज अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठ्दा सबै किन बरफ बने ?” भन्दै प्रश्न गरे।
अर्थमन्त्री वाग्ले हाल करका दर हेरफेर तथा आर्थिक विधेयकसँग सम्बन्धित प्रक्रियाबारे उठेका विवादमा परेका छन्। विधेयक पेस भएपछि त्यसमा त्रुटि भएको भन्दै उनले संसद् सचिवालयमा संशोधनसम्बन्धी पत्र पठाएको विषयमा पनि प्रश्न उठेको छ।
विपक्षी दलहरूले विधेयक प्रक्रिया पूर्ण रूपमा प्रारम्भ नै नभइसकेको अवस्थामा त्रुटि सच्याउने नाममा पठाइएको पत्रको कानुनी आधारबारे स्पष्टता आवश्यक रहेको बताएका छन्। तर अर्थमन्त्रीले यस विषयमा हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।
यही पृष्ठभूमिमा काँग्रेसले अर्थमन्त्रीमाथि उठेका प्रश्नलाई बेवास्ता गर्नु उपयुक्त नहुने भन्दै सरकारको जबाफदेहितामाथि प्रश्न उठाएको हो।







