सवारी साधनमा अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्ध सरकारले आफ्नै नेतृत्वबाट अभियान सुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा उनी र गृहसचिवले प्रयोग गर्ने सरकारी सवारीबाट कालो सिसा हटाइएको छ।
काठमाडौँ । सवारी साधनमा अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्ध सरकारले आफ्नै नेतृत्वबाट अभियान सुरु गरेको छ। गृहमन्त्री सुधन गुरुङको निर्देशनमा उनले प्रयोग गर्ने सरकारी सवारी तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी सवारीबाट कालो सिसा हटाइएको छ। सरकार आफैँले कानुन कार्यान्वयनको उदाहरण प्रस्तुत गर्ने सन्देशसहित अभियानको सुरुआत गरेको गृह प्रशासन स्रोतले जनाएको छ।
प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार गृहमन्त्री गुरुङले सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिलाई बोलाएर आफू र गृहसचिवले प्रयोग गर्ने सवारीबाट तत्काल कालो सिसा हटाउन निर्देशन दिएका थिए। त्यसपछि ट्राफिक प्रहरीले दुवै सरकारी सवारीबाट कालो सिसा हटाएको स्रोतले जनाएको छ।
यससँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरिरहेको कालो सिसा हटाउने अभियानलाई सरकारकै उच्च तहबाट कार्यान्वयन गरिएको सन्देश दिन खोजिएको गृह मन्त्रालय स्रोतको भनाइ छ। सरकारी नेतृत्व आफैँ कानुनी मापदण्ड पालना गर्दै अभियानमा सहभागी भएपछि अन्य सरकारी तथा निजी सवारीका चालक–धनीलाई पनि कानुन पालनामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अवैध रूपमा जडान गरिएका कालो सिसाविरुद्धको अभियान निरन्तर सञ्चालन भइरहेको जनाएको छ। ट्राफिक प्रहरीका अनुसार कानुनविपरीत जडान गरिएका कालो सिसा कुनै पनि सवारीमा राख्न नपाइने भएकाले अभियानलाई थप प्रभावकारी बनाइएको हो।
प्रहरीका अनुसार कालो सिसा प्रयोग भएका सवारी साधनको दुरुपयोग गरी लागुऔषध ओसारपसार, साना हतियारको अवैध ढुवानी, सुन तस्करी तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको आवतजावत हुने गरेको पाइएको छ। केही घटनामा अपराधी फरार हुनसमेत यस्ता सवारी प्रयोग भएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।
यद्यपि, पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी भने कालो सिसाको विषयलाई दुई फरक दृष्टिकोणबाट हेर्नुपर्ने बताउँछन्। उनका अनुसार विगतमा केही महँगा सवारी साधन कम्पनीबाटै कालो सिसासहित आयात हुने गरेका थिए। साथै, उच्च पदस्थ व्यक्तिको आवतजावतमा सुरक्षा जोखिम कम गर्न र उनीहरूको गतिविधि बाहिरबाट सहजै नदेखियोस् भन्ने उद्देश्यले पनि कालो सिसा प्रयोग गरिने अभ्यास रहँदै आएको उनी बताउँछन्। ठकुरीका अनुसार प्रधानमन्त्री, गृहमन्त्रीलगायत विशिष्ट व्यक्तिले प्रयोग गर्ने सवारीमा सुरक्षाका कारण यस्ता व्यवस्था गरिएको देखिए पनि अपराधीहरूले आफूलाई लुकाउन र पहिचान हुन नदिन यही सुविधाको दुरुपयोग गर्न थालेपछि यसको नियन्त्रण आवश्यक बनेको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त निकायको स्वीकृतिबिना सवारीको रङ, स्वरूप, सिट संख्या, इन्जिन, चेसिस वा अन्य संरचनात्मक परिवर्तन गर्न पाइँदैन। ट्राफिक प्रहरीले सोही कानुनी व्यवस्थाको कार्यान्वयन गर्दै अवैध रूपमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार दोस्रो कार्यकालमा गृहमन्त्री गुरुङले व्यक्ति–केन्द्रित शैलीभन्दा संस्थागत प्रणालीलाई प्राथमिकता दिने संकेत गरिरहेका छन्। निर्णय कार्यान्वयनमा गृहसचिव तथा प्रशासनिक संयन्त्रको भूमिकालाई अघि सार्ने उनको कार्यशैलीसँगै आफ्नै र गृहसचिवको सवारीबाट कालो सिसा हटाउने निर्णयलाई पनि कानुन कार्यान्वयन आफ्नै नेतृत्वबाट सुरु गर्न खोजिएको सन्देशका रूपमा गृह प्रशासनभित्र हेरिएको छ।






