२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कला, संस्कृति युक्त, स्वच्छ र समुन्नत टोखा’ बनाउने दीर्घकालीन योजनामा छौँ : नगर प्रमुख प्रकाश अधिकारी

अ+ अ-

सेवा प्रवाहको डिजिटलीकरणदेखि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, वातावरण र सुशासनसम्म नागरिकमैत्री स्थानीय सरकार निर्माण गर्ने टोखा नगरपालिकाको बहुआयामिक अभ्यास

काठमाडौँ । स्थानीय सरकारको सफलताको मापन केवल सडक, भवन वा अन्य भौतिक संरचनाबाट मात्र हुँदैन । नागरिकले दैनिक रूपमा पाउने सेवा, प्रशासनप्रतिको विश्वास, विकास योजनाको प्रभावकारिता र सार्वजनिक उत्तरदायित्वले स्थानीय सरकारको वास्तविक कार्यसम्पादन देखाउँछ । काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका पनि पछिल्ला वर्षहरूमा तीव्र शहरीकरणसँगै बढेका चुनौती र नागरिक अपेक्षाबीच सेवा, सुशासन र विकासलाई सन्तुलित रूपमा अघि बढाउने प्रयासमा छ ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले परिचित टोखाले पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधारसँगै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने तथा नागरिक सहभागितालाई संस्थागत गर्ने नीति लिएको जनाएको छ । नगर प्रमुख प्रकाश अधिकारीका अनुसार यी सबै काम दीर्घकालीन सोचका आधारमा अघि बढाइएका हुन् ।

“सर्वप्रथम त हामीले एउटा थिम निर्माण गर्यौं–कला, संस्कृति युक्त, स्वच्छ, समुन्नत टोखा नगर । यसलाई आत्मसात गरेर टोखा नगरपालिकाले दीर्घकालीन कार्ययोजना अगाडि बढाएको छ,” नगर प्रमुख अधिकारीले भने । उनका अनुसार स्थानीय सरकारको पाँचवर्षे कार्ययोजनालाई तत्कालीन आवश्यकताभन्दा पनि भविष्यको नगर विकाससँग जोडेर तयार गरिएको छ । संस्कृति संरक्षण, हरियाली प्रवद्र्धन, सार्वजनिक जग्गाको संरक्षण, सुरक्षित सार्वजनिक पूर्वाधार, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र प्रविधिमैत्री प्रशासनलाई एउटै विकास अवधारणाभित्र राखेर काम भइरहेको उनले बताए ।

“धुलोमुक्त टोखा, हरित नगरपालिका, सार्वजनिक जग्गा संरक्षण, करिडोर विस्तार, सडकबत्ती, सिसिटिभी जडान र शिक्षा तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” उनले भने ।

नगर प्रमुख अधिकारीका अनुसार २०७२ सालको भूकम्पले खुला सार्वजनिक क्षेत्रको महत्व थप स्पष्ट बनाएको थियो । त्यसपछि नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, संरक्षण तथा खुला क्षेत्र विकासलाई योजनाबद्ध रूपमा अघि बढाएको छ । अहिले विभिन्न स्थानमा पार्क निर्माण, सार्वजनिक स्थल संरक्षण र नागरिकले उपयोग गर्न सक्ने खुला क्षेत्र विस्तार गरिनु त्यसैको परिणाम भएको उनको भनाइ छ ।

“आज हामी ८० देखि ८५ प्रतिशत भौतिक पूर्वाधार निर्माण गर्न सफल भएका छौं । खुला क्षेत्र संरक्षण, पार्क निर्माण र सार्वजनिक जग्गा व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेका छौं,” उनले भने । नगर प्रमुख अधिकारीका अनुसार नगर विकास केवल सडक निर्माणमा सीमित हुँदैन । त्यसका लागि शिक्षा, स्वास्थ्य, वातावरण, सार्वजनिक सुरक्षा र नागरिकको जीवनस्तर सुधारलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता हुन्छ । यही सोचका आधारमा नगरपालिकाले आफ्ना अधिकांश नीति तथा कार्यक्रम तयार गरेको उनको भनाइ छ ।

डिजिटल सेवा र सुशासनतर्फको अभ्यास
भौतिक विकाससँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउने कामलाई पनि टोखा नगरपालिकाले प्राथमिकतामा राखेको छ । नागरिकले कम समयमै, कम झन्झटमा र बढी पारदर्शी ढंगले सेवा पाउन सकून् भन्ने उद्देश्यले अधिकांश प्रशासनिक सेवामा सूचना प्रविधिको प्रयोग विस्तार गरिएको प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई बताउँछन् ।

“टोखा नगरपालिकाबाट प्रवाह हुने सेवाहरूलाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री तुल्याउनका लागि हामीले हाम्रा सेवाहरूलाई बढीभन्दा बढी डिजिटाइज गर्ने प्रयास गरेका छौं । सूचना प्रविधिको भरपुर उपयोग गरेर सेवालाई नागरिकको सहज पहुँचमा पुर्‍याएका छौं,” उनले भने ।
उनका अनुसार नगरपालिकाले सेवा प्रवाहलाई केवल छिटो बनाउने होइन, उत्तरदायी र गुनासोरहित बनाउने लक्ष्य पनि राखेको छ । त्यसका लागि सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाइ, सामाजिक सञ्जालमार्फत सूचना प्रवाह तथा नियमित रूपमा नगरपालिकाले गरेका काम सार्वजनिक गर्ने अभ्यासलाई संस्थागत गरिएको छ ।

“जनताको सेवा गुनासोरहित हुनुपर्छ भन्ने हिसाबले सार्वजनिक सुनुवाइ, गुनासो सुनुवाइ र गरेका कामको विवरण सार्वजनिक गर्ने काम गरेका छौं । वडा कार्यालय र स्वास्थ्य संस्थालाई पनि सक्रिय बनाएका छौं,” भट्टराईले भने । उनका अनुसार सेवाग्राहीले कार्यालयमा आएर घण्टौं लाइन बस्नुपर्ने अवस्था अहिले धेरै हदसम्म अन्त्य भएको छ ।

“कुनै पनि नागरिकले नगरपालिका अथवा मातहतका कार्यालयमा आएर घण्टौं लाइन बस्नुपर्ने झन्झट धेरै हदसम्म अन्त्य गरेका छौं । हाम्रा अधिकांश सेवा सूचना प्रविधिमैत्री छन्। घरैबाट आवेदन दिन सकिन्छ, नगरपालिकामा आएर पनि सहजै सेवा लिन सकिन्छ,” उनले भने ।
भवन नक्सा स्वीकृतिका लागि नगरपालिकाले ई–बीपीएस लागू गरेको छ । प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार यो पूर्ण रूपमा स्वचालित प्रणाली हो ।

“नक्सा पासका लागि हामीले ईबीपीएस प्रणाली अवलम्बन गरेका छौं । पूर्ण रूपमा स्वचालित प्रणाली हो । घरैबाट आवेदन दिन सकिन्छ र प्रमाणपत्र पनि अनलाइनबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाएका छौं,” उनले भने ।

उनका अनुसार आगामी दिनमा अन्य प्रशासनिक सेवामा पनि यस्तै डिजिटल प्रणाली विस्तार गर्ने तयारी भइरहेको छ । सूचना अधिकारीका अनुसार सेवा लिन आउने नागरिकलाई सहज बनाउने उद्देश्यले नगरपालिकामा हेल्प डेस्क सञ्चालन गरिएको छ । सेवाग्राहीले कुन शाखामा जाने, कसलाई भेट्ने र प्रक्रिया के हो भन्ने जानकारी प्रवेशद्वारबाटै पाउन सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भवनभित्र सूचना बोर्ड, सुझाव पेटिका, वेबसाइट, सामाजिक सञ्जाल तथा हेलो सरकार प्रणालीमार्फत पनि नागरिकका गुनासा र सुझाव संकलन गरिन्छ ।

सूचना अधिकारीका अनुसार हेलो सरकारबाट दैनिक आउने गुनासालाई सम्बन्धित शाखा वा वडा कार्यालयमा तत्काल पठाइने तथा त्यसको प्रगति नियमित रूपमा अनुगमन गरिन्छ । सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणमार्फत स्थानीय सरकारप्रतिको नागरिक सन्तुष्टि पनि मापन गरिँदै आएको छ ।

शिक्षा र स्वास्थ्यलाई सामाजिक विकासको आधार
टोखा नगरपालिकाले विकासलाई पूर्वाधारमा मात्र सीमित नराखी सामाजिक क्षेत्रमा पनि प्राथमिकता दिएको जनाएको छ । नगर प्रमुख अधिकारीका अनुसार नागरिकको जीवनस्तर सुधार्न शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानी दीर्घकालीन विकासको आधार हो । शिक्षा शाखाका अनुसार सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ । शिक्षक तालिम, विद्यार्थीको सिकाइ सुधार कार्यक्रम तथा विभिन्न शैक्षिक गतिविधिमार्फत विद्यालयको शैक्षिक वातावरण सुदृढ बनाउने प्रयास भइरहेको छ ।

शाखाका अनुसार गत वर्षको तुलनामा एसईईसहित अन्य कक्षाको नतिजामा सुधार देखिएको छ भने विद्यार्थीको सिकाइ उपलब्धि र आत्मविश्वासमा पनि सकारात्मक परिवर्तन आएको छ । नगर प्रमुख अधिकारीका अनुसार विद्यालय भवन निर्माणसँगै शिक्षकको क्षमता विकास, नियमित अनुगमन र कार्यसम्पादन मूल्याङ्कनलाई पनि सँगसँगै अघि बढाइएको छ । आर्थिक रूपमा कमजोर, दलित तथा विपन्न समुदायका विद्यार्थीलाई लक्षित छात्रवृत्ति कार्यक्रमलाई पनि थप व्यवस्थित बनाइएको उनले बताए ।

स्वास्थ्य क्षेत्रलाई पनि नगरपालिकाले समान प्राथमिकतामा राखेको छ । स्वास्थ्य शाखाका अनुसार सबै वडा तहबाट आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइएको छ भने नगरभित्र रहेको प्रदेश अस्पतालसँगको समन्वयमा थप सेवा विस्तार भइरहेको छ । नागरिकलाई आफ्नै वडामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। त्यससँगै ‘मेयर दीर्घायु कार्यक्रम’ मार्फत नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक रोग पहिचान र स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन भइरहेका छन्।

स्वास्थ्य शाखाका अनुसार वडा तहका स्वास्थ्य केन्द्रबाट सामान्य रोगको पहिचान, प्रारम्भिक उपचार तथा आवश्यक परे थप उपचारका लागि रेफरल सेवा उपलब्ध गराइँदै आएको छ । यसले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढासम्म धाउनुपर्ने अवस्थालाई कम गरेको नगरपालिकाको दाबी छ ।

कृषिदेखि पूर्वाधारसम्म : समृद्धिको आधार विस्तार गर्ने प्रयास
टोखा नगरपालिकाले विकासलाई केवल सडक र भवन निर्माणमा सीमित नराखी स्थानीय अर्थतन्त्रसँग जोड्ने प्रयास पनि गरिरहेको जनाएको छ । कृषि, पशुपालन, सहकारी, लघु उद्यम, रोजगार तथा पर्यटनलाई आर्थिक विकासका आधारका रूपमा अघि बढाइएको नगरपालिकाको भनाइ छ ।

कृषि शाखा प्रमुख सुमित्रा पाठकका अनुसार नगरपालिकाको भौगोलिक बनावटलाई आधार बनाएर वडाअनुसार फरक–फरक कार्यक्रम सञ्चालन गरिएको छ । उनका अनुसार वडा नम्बर १ र २ लगायतका क्षेत्रमा व्यावसायिक तरकारी खेती, टनेल खेती, खाद्यान्न बाली प्रवद्र्धन तथा कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको छ । किसानलाई टनेल प्लास्टिक, कृषि उपकरण तथा अन्य सामग्री अनुदानमार्फत उपलब्ध गराइँदै आएको उनले जानकारी दिइन् ।

“व्यवसायिक कृषिलाई प्रोत्साहन गर्दै किसानको उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उनले भनिन् । शहरी क्षेत्रका वडामा भने कौसी खेती कार्यक्रम सञ्चालन गरिएको छ। पाठकका अनुसार हजारौं घरधुरी यस कार्यक्रममा आबद्ध भइसकेका छन् । घरायसी फोहोर व्यवस्थापन, कम्पोस्ट मल उत्पादन तथा विषादीरहित तरकारी उत्पादनलाई एउटै कार्यक्रममार्फत जोडिएको उनले बताइन् ।

पशु सेवा शाखामार्फत पशु रोग नियन्त्रण, खोप अभियान, व्यवसायिक पशुपालकलाई अनुदान, उपकरण वितरण तथा घरपालुवा जनावर व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेका छन् । सहकारी शाखाले सहकारी संस्थाको क्षमता विकास, व्यवस्थापन सुधार तथा तालिमलाई निरन्तरता दिएको जनाएको छ ।

त्यसैगरी लघु उद्यम तथा रोजगार कार्यक्रममार्फत सीपमूलक तालिम, उद्यमशीलता विकास, स्वरोजगार प्रवद्र्धन तथा बेरोजगार युवालाई अवसर सिर्जना गर्ने प्रयास भइरहेको नगरपालिकाको भनाइ छ । पर्यटन क्षेत्रमा भने अझै ठूलो सम्भावना रहेको नगरपालिकाले स्वीकार गरेको छ । टोखाको परम्परागत चाकु उद्योग, चण्डेश्वरी मन्दिर, बौडेश्वर झरना, ऐतिहासिक सम्पदा तथा स्थानीय संस्कृतिलाई पर्यटनसँग जोडेर आर्थिक गतिविधि विस्तार गर्ने योजना रहेको कृषि शाखाले जनाएको छ ।

पूर्वाधार, वातावरण र विपद् व्यवस्थापनमा दीर्घकालीन सोच
पूर्वाधार विकासलाई नगरपालिकाले दीर्घकालीन योजनासँग जोडेर अघि बढाएको जनाएको छ । पूर्वाधार शाखाका अनुसार सडक निर्माणसँगै खानेपानी, ढल तथा विद्युत् व्यवस्थापनलाई एउटै योजनाभित्र समेट्ने नीति लिइएको छ ।

शाखाका अनुसार विगतमा जथाभावी बिछ्याइएका पाइपलाइनका कारण सडक बारम्बार भत्काउनुपर्ने अवस्था सिर्जना भएकाले अब खानेपानी र ढल व्यवस्थापन सम्पन्न भएपछि मात्रै सडक निर्माणलाई प्राथमिकता दिइएको छ । नगर प्रमुख प्रकाश अधिकारीले खानेपानीलाई नगरको सबैभन्दा चुनौतीपूर्ण विषयमध्ये एक भएको स्वीकार गर्छन् ।

उनका अनुसार शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दीर्घकालीन खानेपानी आयोजना सञ्चालन गर्ने सम्भावना अध्ययन गरिए पनि कानुनी जटिलताका कारण योजना कार्यान्वयन हुन सकेको छैन । यद्यपि डिप बोरिङ, पाइपलाइन विस्तार, रिचार्ज प्रणाली तथा वैकल्पिक स्रोत व्यवस्थापनमा नगरपालिकाले निरन्तर लगानी गरिरहेको उनले बताए ।

वातावरण तथा विपद् व्यवस्थापन शाखाका अनुसार जोखिम न्यूनीकरणलाई विकास योजनासँगै जोडिएको छ । सम्भावित पहिरो तथा भूक्षय रोक्न बायो–इन्जिनियरिङ, रिटेनिङ वाल निर्माण, नदी नियन्त्रण तथा जोखिमयुक्त क्षेत्रको संरक्षणका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
नगरपालिकाले हालै दमकल सञ्चालनमा ल्याएको, विपद्का बेला परिचालन हुने स्वयंसेवक टोली गठन गरेको तथा उद्धार सामग्री व्यवस्थापनलाई व्यवस्थित बनाएको शाखाले जनाएको छ ।

यससँगै स्थानीय जलवायु अनुकूलन तथा विपद् प्रतिरोधी योजना तयार गर्ने काम पनि अघि बढिरहेको छ । वातावरण संरक्षणका लागि निरन्तर नदी सरसफाइ अभियान सञ्चालन गरिएको छ । नगरपालिकाका अनुसार सयभन्दा बढी हप्तादेखि प्रत्येक शनिबार श्रमदानसहित सरसफाइ अभियान सञ्चालन भइरहेको छ । यसका अतिरिक्त वृक्षारोपण, सवारीसाधनको धुवाँ परीक्षण, उद्योग तथा वर्कसपको वातावरणीय अनुगमन, नदी करिडोर संरक्षण तथा विकास आयोजनाको वातावरणीय अध्ययनलाई पनि निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

नागरिकको अनुभव र विकासको मूल्याङ्कन
स्थानीय सरकारका योजना र कार्यक्रमको प्रभाव अन्तत: नागरिकले अनुभव गरेको सेवाबाटै मापन हुन्छ । टोखा नगरपालिकाका केही स्थानीयले पछिल्ला वर्षहरूमा नगरको स्वरूपमा परिवर्तन आएको अनुभव सुनाएका छन् । टोखाका स्थानीय सुनिल भट्टराईका अनुसार सडक, सरसफाइ, सिसिटिभी जडान, तार व्यवस्थापन तथा कार्यालयभित्रको सेवा प्रणालीमा सुधार देखिएको छ । “वान डोर सिस्टमबाट सेवा प्रवाह भइरहेको देखेको छु । कर्मचारीहरू पनि चुस्त देखिन्छन्। प्रविधिमैत्री सेवा विस्तार भएको अनुभूति हुन्छ,” उनले भने ।

उनका अनुसार स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले आगामी दिनमा सेवा अझ घरदैलोमै पुग्ने अपेक्षा छ । विशेषगरी स्वास्थ्य सेवा, छात्रवृत्ति, सीप विकास तथा युवा लक्षित कार्यक्रम प्रभावकारी रहेको उनले बताए । टोल विकास समितिका अध्यक्ष राजेन्द्र पोख्रेलले पनि नगरपालिकाको सेवा प्रवाहप्रति सकारात्मक अनुभव सुनाए ।“म लगभग १२ वर्षदेखि टोल विकास समितिको अध्यक्ष छु। टोलको काम परिरहन्छ । नगरपालिका आउँछु, काम सहजै हुन्छ,” उनले भने ।

उनले करिब एक दशकअघिको अवस्थासँग तुलना गर्दै अहिले टोखाको भौतिक स्वरूपमा उल्लेखनीय परिवर्तन आएको बताए ।“पहिला हिलो र धुलैधुलो थियो । अहिले करिडोर बाहेक धेरैजसो पूर्वाधार निर्माण भइसकेजस्तो लाग्छ,” उनले भने । अर्का स्थानीय रबिन्द्रबहादुर श्रेष्ठले पनि नगरपालिकाले विकास निर्माणलाई निरन्तरता दिएको अनुभव सुनाए ।“काम भइराखेको देखिन्छ । अझ राम्रो गर्दै जानुहुन्छ भन्ने अपेक्षा छ,” उनले भने ।

नगर प्रमुख प्रकाश अधिकारीका अनुसार विकासको अन्तिम उद्देश्य केवल संरचना निर्माण गर्नु होइन, नागरिकको जीवनस्तरमा सुधार ल्याउनु हो । त्यसका लागि शिक्षा, स्वास्थ्य, वातावरण, सार्वजनिक सुरक्षा, धार्मिक सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई एउटै विकास अवधारणाभित्र राखेर काम भइरहेको उनले बताए ।

टोखाको ऐतिहासिक तथा धार्मिक पहिचानलाई आर्थिक अवसरसँग जोड्ने उद्देश्यले धार्मिक पर्यटन, होटल तथा रिसोर्ट, स्थानीय उत्पादन र निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने नीति पनि नगरपालिकाले लिएको उनले जानकारी दिए । उनले टोखाको समृद्धि केवल नगरपालिकाको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै संघीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको सहकार्यलाई अपरिहार्य ठाने ।

स्थानीय सरकार सञ्चालनको पछिल्लो दशकमा टोखा नगरपालिकाले सेवा प्रवाह, सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण तथा आर्थिक विकासलाई समानान्तर रूपमा अघि बढाउने प्रयास गरेको देखिन्छ । तीव्र शहरीकरणसँगै खानेपानी, यातायात व्यवस्थापन, वातावरणीय सन्तुलन तथा बढ्दो नागरिक अपेक्षाजस्ता चुनौती अझै बाँकी रहे पनि नगरपालिकाले दीर्घकालीन योजनाका आधारमा समाधान खोज्ने प्रयास जारी राखेको जनाएको छ ।

नगर प्रमुख अधिकारीले भनेझैँ, ‘कला, संस्कृति युक्त, स्वच्छ र समुन्नत टोखा’ निर्माण गर्ने लक्ष्य केवल एउटा नारामा सीमित छैन; त्यो स्थानीय सरकार, नागरिक, निजी क्षेत्र र माथिल्ला सरकारबीचको सहकार्यबाट मात्रै साकार हुने दीर्घकालीन विकास यात्राको आधार बनेको देखिन्छ ।

0 Comments