काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकामा अपांगाता परिचयपत्रको विवरण परिवर्तन गरी सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगले पोखरिया नगरपालिकाका तत्कालीन अधिकृत छैठौँ तहका कर्मचारी संजय कुमार पाण्डेय, अपांग शाखामा कार्यरत तत्कालीन कर्मचारी अम्बिका महतो खुलवट र पोखरिया नगरपालिका-१० का महेन्द्र राउत कुर्मीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको हो।
आयोगका अनुसार महेन्द्र राउत कुर्मीको स्वास्थ्य परीक्षण प्रतिवेदनका आधारमा पोखरिया नगरपालिकाको अपाङ्गता समन्वय समितिको निर्णयबाट अपांगाताको वर्गीकरण गरिएको थियो। सो निर्णयअनुसार उनको परिचयपत्रमा सामाजिक सुरक्षा भत्ता नपाउने वर्ग ‘ग’ उल्लेख गरिएको थियो।
तर, उक्त विवरणबारे जानकारी हुँदाहुँदै सरकारी अभिलेखमा रहेको परिचयपत्रको विवरण केरमेट गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वर्गमा परिवर्तन गरिएको आयोगको अनुसन्धानबाट खुलेको छ।
आयोगका अनुसार संजय कुमार पाण्डेय र अम्बिका महतो खुलवटले महेन्द्र राउत कुर्मीसँगको मिलेमतोमा परिचयपत्रको विवरण सच्याई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने किसिमको गलत लिखत तयार तथा प्रमाणित गरेको आरोप छ।
उक्त प्रक्रियाबाट महेन्द्र राउत कुर्मीले सामाजिक सुरक्षा भत्ताबापत १ लाख ९१ हजार ५ सय २० रुपैयाँ लाभ लिएको आयोगको दाबी छ।
आयोगले तत्कालीन अधिकृत छैठौँ तहका कर्मचारी पाण्डेय र अपांग शाखाका कर्मचारी खुलवटविरुद्ध १ लाख ९१ हजार ५ सय २० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो असुलउपरको माग दाबी गरेको छ।
त्यस्तै, महेन्द्र राउत कुर्मीलाई सरकारी कागजात सच्याउने कार्यमा सहयोग गर्ने मतियारका रूपमा अभियोग लगाउँदै मुख्य कसुरदारसरह सजायको माग गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार उक्त मुद्दा विशेष अदालत, काठमाडौँमा दायर गरिएको हो।







