काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. भोला थापासमक्ष स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विश्वविद्यालय सुधारसँग सम्बन्धित २१ बुँदे माग पत्र प्रस्तुत गरेको छ।
स्ववियु अध्यक्ष दीपक जोशीको नेतृत्वमा बिहीबार उपकुलपति कार्यालय पुगेको टोलीले विश्वविद्यालयको शैक्षिक सुधार, संस्थागत स्वायत्तता तथा विद्यार्थीका सरोकार सम्बोधन गर्नुपर्ने विषय समेटिएको सुझाव पत्र बुझाएको हो।
स्ववियुले विश्वविद्यालयका भौतिक संरचना निर्माण तथा पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति पनि उपकुलपतिको ध्यानाकर्षण गराएको जनाएको छ। टोलीले २०७२ सालको भूकम्पबाट प्रभावित त्रिविका कान्ति ब्वाइज होस्टलको ‘ख’ ब्लक र वनस्पति विज्ञान भवन अझै पुनर्निर्माणको प्रक्रियामै रहेको भन्दै त्यसको शीघ्र समाधान गर्न आग्रह गरेको छ।
स्ववियु अध्यक्ष जोशीका अनुसार पुनर्निर्माणमा देखिएको ढिलाइप्रति ध्यानाकर्षण गराउन प्रतीक स्वरूप सम्बन्धित भवनको तस्बिर र क्याक्टसको बिरुवा उपकुलपतिलाई हस्तान्तरण गरिएको थियो।
स्ववियुले नयाँ नेतृत्वसँग विश्वविद्यालयको समग्र सुधारका लागि सहकार्य गर्दै विद्यार्थीका माग र संस्थागत आवश्यकतालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।







