काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले गणेश नेपालीको मृत्युको घटनामा गम्भीर र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खरेलले यस विषयमा संसदमा समेत आवाज उठाएको जानकारी दिए । मुलुकमा रोजगारीको अभाव र अवसरहरूको कमीका कारण युवाहरूमा चरम निराशा बढ्दै गएको उल्लेख गर्दै उनले गणेश नेपालीलाई आम युवाहरूको संघर्षपूर्ण अवस्थाको प्रतिनिधि भएको बताए । सांसद खरेलले जस्तोसुकै तर्क गरे पनि यस घटनामा मृतक नै सही भएको जिकिर गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार तत्पर हुनुपर्ने बताए ।
उनले भने, ‘दैनिक गुजारा चलाउन संघर्ष गरिरहेका एउटा सामान्य युवाको अवस्थालाई उनले प्रतिनिधित्व गर्छन् । यस सन्दर्भमा गहिरो छानबिन हुनुपर्छ । उनको जीवनको मूल्य कसैसँग पनि दाँजिन सकिँदैन र गुमेको जीवन कुनै पनि बहानामा फिर्ता हुन सक्दैन । गणेश नेपाली अब हामीमाझ छैनन्, तर कम्तीमा सत्य तथ्य बाहिर ल्याएर उनको परिवारले न्याय पाउनुपर्छ । आगामी दिनमा यस्ता हृदय विदारक घटनाहरू नदोहोरिउन् भन्नेतर्फ सरकार गम्भीर हुनुपर्छ ।’
उहाँले सरकारमाथि आफ्नो भरोसा र विश्वास रहेको बताउँदै यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर निष्कर्षमा पुर्याउन आग्रह समेत गरे।







