काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव, राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल तथा नेपालका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का प्रमुख नुमान ओजकानबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’लाई प्रभावकारी र परिणाममुखी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल भएको जनाइएको छ।
छलफलमा स्वदेशमै नेपाली युवाका लागि भरपर्दो, सम्मानजनक र दिगो रोजगारीका अवसर विस्तार गर्ने लक्ष्यअनुसार अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम तथा कार्यान्वयनका सम्भावित उपायबारे विचार आदानप्रदान भएको थियो।
सहभागीहरूले आन्तरिक रोजगारी सिर्जना, श्रम बजार सुदृढीकरण तथा रोजगारीका अवसर विस्तार गर्न सरकार, राष्ट्रिय योजना आयोग र अन्तर्राष्ट्रिय साझेदारबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेका थिए।







