काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका कार्यालयको प्रवेश मार्ग अवरुद्ध हुने गरी सवारी पार्किङ गरिएको घटनामा निष्पक्ष छानबिन र कानुनबमोजिम कारबाही हुनुपर्ने पार्टीको अडान यथावत् रहेको बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले उक्त घटनाबारे पार्टीले यसअघि नै औपचारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै त्यसमा कुनै परिवर्तन नभएको स्पष्ट पारे।
उनले घटनाको निष्पक्ष अनुसन्धान गरी जिम्मेवार व्यक्ति जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा रास्वपा दृढ रहेको बताए। ट्राफिक प्रहरीले तत्काल के कदम चाल्यो भन्ने विषय अलग भए पनि पार्टीको नीतिगत धारणा भने स्पष्ट रहेको उनको भनाइ थियो।
रास्वपासँग आबद्ध व्यक्ति नै घटनामा संलग्न भएको पाइए पनि कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले पार्टीले आफ्ना प्रतिनिधिमाथिसमेत आवश्यक पर्दा कारबाही गरेको उदाहरण रहेको उल्लेख गर्दै कानुन कार्यान्वयनमा कुनै भेदभाव नहुने बताए।
यसै क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको पछिल्लो भेटवार्ताबारे पनि जानकारी दिए। उनका अनुसार भेटमा सुकुम्वासी समस्या समाधानका उपाय, समसामयिक राष्ट्रिय राजनीतिक अवस्था तथा अन्य सार्वजनिक सरोकारका विषयमा विस्तृत छलफल भएको थियो।
लामिछानेले विशेष गरी सुकुम्वासी व्यवस्थापनलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा प्रधानमन्त्रीसँग गहन विचा-विमर्श भएको र समसामयिक राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर परिणाममुखी संवाद भएको बताए।







