काठमाडौँ । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता एक वर्षको अवधिमा ५८ अर्ब रुपैयाँ बराबर प्राप्त भएको छ । उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा आएको यस्तो प्रतिबद्धता अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो ।
आर्थिक वर्ष २०८१/८२ मा करिब ६५ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षमा भने सो रकम घटेर ५८ अर्ब रुपैयाँमा सीमित भएको विभागले जनाएको छ ।
विभागका अनुसार यस अवधिमा कुल १ हजार ११६ वटा उद्योग दर्ता भएका छन् । तीमध्ये ८९७ वटा उद्योग स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट र बाँकी स्वीकृति आवश्यक पर्ने प्रक्रियामार्फत दर्ता भएका हुन् ।
लगानी प्रतिबद्धताको स्रोत हेर्दा स्वीकृति प्रक्रियाबाट ४८ अर्ब ४१ करोड रुपैयाँ र स्वचालित प्रणालीमार्फत ९ अर्ब ५८ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
आर्थिक वर्षको अन्तिम महिनामा लगानी प्रतिबद्धता उल्लेख्य रूपमा बढेको देखिएको छ । असार २०८३ मा मात्र १० अर्ब ३८ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो । यसअघि साउन महिनामा पनि करिब २० अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागको विवरणमा उल्लेख छ । साउन, फागुन र असारबाहेक अन्य महिनामा भने लगानी प्रतिबद्धताको प्रवाह तुलनात्मक रूपमा कमजोर रहेको देखिएको छ ।
दर्ता भएका उद्योगको वर्गीकरणअनुसार ठूला र मझौला उद्योगको संख्या समान १२/१२ रहेको छ । बाँकी १ हजार ९२ वटा उद्योग साना प्रकृतिका रहेका छन् । असार महिनामा मात्रै दर्ता भएका २०२ उद्योगमध्ये ३ वटा ठूला, एउटा मझौला र अन्य साना उद्योग रहेका छन् ।
क्षेत्रगत रूपमा सूचना प्रविधिसम्बन्धी उद्योगको संख्या सबैभन्दा बढी रहेको छ । यस अवधिमा ७२७ वटा सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् भने तिनमा २ अर्ब ८३ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ ।
पर्यटन क्षेत्रमा २२७ वटा उद्योग दर्ता भएका छन् । यस क्षेत्रमा १३ अर्ब ९९ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको विभागको तथ्यांक छ । सेवामूलक क्षेत्रमा ७१ उद्योग दर्ता हुँदा ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ ।
कृषि क्षेत्रमा दर्ता भएका उद्योगको संख्या १८ मात्र भए पनि लगानी प्रतिबद्धताको मात्रा सबैभन्दा उच्च देखिएको छ । यस क्षेत्रमा २३ अर्ब १८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै, उत्पादनमूलक क्षेत्रमा ६३ वटा उद्योग दर्ता भएका छन् भने ती उद्योगमा ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता रहेको विभागले जनाएको छ ।







