काठमाडौँ । बर्दियास्थित भूमि प्रशासन कार्यालय परिसरभित्र मादक पदार्थ सेवन गरेको आरोपमा तीन कर्मचारीसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कार्यालयभित्रै मादक पदार्थ सेवन भइरहेको भन्ने सूचनापछि छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा पर्नेमा भूमि प्रशासन कार्यालयका एक खरिदार, एक चालक, गुलरिया नगरपालिकाले मालपोत कार्यालयमा सञ्चालन गरेको भू-सेवा केन्द्रका एक कर्मचारी तथा दुई जना महिला लेखनदास रहेका छन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले केही कर्मचारीलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनासम्बन्धी थप तथ्य संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।







