काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधीनतामा देखिएको जोखिम र जटिल राजनीतिक परिस्थितिको सामना गर्न परिवर्तनकारी शक्तिहरूबीच सहकार्य हुनुपर्ने बताएका छन् ।
बुधवार जनकपुरमा आयोजित मधेस प्रदेश समितिको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक दाहालले १२ बुँदे समझदारी, शान्ति सम्झौता र संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म सहकार्य गरेका दलहरूसँग पुनः मोर्चाबन्दी गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् ।
उनले नेपाली काँग्रेस, मधेस केन्द्रित दल तथा अन्य राजनीतिक शक्तिहरूसँगको सहकार्य नै वर्तमान चुनौतीको समाधान भएको उल्लेख गरे ।
उनले राष्ट्रिय स्वाधीनताको प्रश्न हाल अत्यन्तै पेचिलो र संवेदनशील मोडमा पुगेको उल्लेख गर्दै यसको रक्षाका लागि दलहरूबीच साझा धारणा बन्नु आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय क्षेत्रमा पार्टीको प्रभाव र सम्बन्ध विस्तारमा विगतमा केही कमी कमजोरी भएको स्वीकार गरे । उनले आगामी दिनमा विश्वका विभिन्न कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय पहलकदमीलाई थप सशक्त बनाउने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए ।
सांगठनिक अवस्थाबारे चर्चा गर्दै उनले भौगोलिक प्रदेशहरूमध्ये मधेस प्रदेशको शपथ ग्रहण सम्पन्न भएको र अब बागमती प्रदेशको मात्र बाँकी रहेको बताए ।
मधेस प्रदेशको कार्यक्रम सम्पन्न भएसँगै पार्टीले सांगठनिक अभियानमा नयाँ गति लिने उनको विश्वास छ ।







