काठमाडौँ। नेकपा एमालेले संविधान संशोधनका विषयमा प्राप्त सुझावलाई अध्ययन गरी त्यसका आधारमा औपचारिक प्रस्ताव तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
संविधान पुनरावलोकन तथा संशोधनसम्बन्धी सुझाव संकलनका लागि एमालेले गठन गरेको कार्यदलअन्तर्गतको उपसमितिले प्राप्त सुझावको अध्ययन गर्दै संशोधन प्रस्ताव निर्माणको काम अघि बढाउने निर्णय गरेको हो।
उपसमितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको थियो। संयोजक अग्निप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधनका लागि आएका सुझावलाई विषयगत रूपमा विश्लेषण गरी तथ्य, आधार र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने निष्कर्ष निकालेको एमालेले जनाएको छ।
कार्यदलका सदस्य सचिव महेश बर्तौलाका अनुसार बैठकमा संविधान कार्यान्वयनको क्रममा देखिएका उपलब्धि, अनुभव र व्यवहारिक चुनौतीहरूको समीक्षा गर्ने विषयमा समेत छलफल भएको छ।
उनका अनुसार संविधान संशोधन आवश्यक पर्ने क्षेत्र पहिचान गरी त्यसलाई राजनीतिक, संवैधानिक, प्रशासनिक र कानुनी पक्षबाट अध्ययन गर्ने विषयमा छलफल गरिएको छ।
एमालेले संविधान संशोधनसम्बन्धी सुझाव संकलनका क्रममा राजनीतिक दल, संवैधानिक निकाय, कानुनविद्, विषयगत विज्ञ, प्रशासनिक क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालासँग समन्वय गर्ने प्रक्रिया र विधिबारे पनि छलफल गरेको छ।
बैठकमा उपसमिति संयोजक खरेल र सदस्य सचिव बर्तौलासहित रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा तथा विज्ञका रूपमा पूर्वकानुनमन्त्री माधवप्रसाद पौडेल सहभागी थिए।
सदस्य सचिव बर्तौलाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र वर्तमान संविधानले अंगीकार गरेको शासन प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यले संशोधनसम्बन्धी सुझाव संकलनको काम भइरहेको बताएका छन्। उनले प्राप्त सुझावको अध्ययनपछि आवश्यक विषय समेटेर संशोधन प्रस्ताव तयार गरिने जानकारी दिए।







