काठमाडौँ । सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने, सीमा क्षेत्रको आवागमनलाई सहज बनाउने तथा अवैध गतिविधिमाथि निगरानी बढाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले ‘बोर्डर इन्टरएक्सन टिम’ (बीआईटी) परिचालन गरेको छ।
सशस्त्र प्रहरीका अनुसार साउन १० गतेदेखि झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीस्थित प्रमुख सीमा नाकामा उक्त टोली खटाइएको हो। प्रत्येक नाकामा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १४ सदस्यीय टोली परिचालन गरिएको छ।
प्रहरीले जनाएअनुसार टोली सम्बन्धित सीमा सुरक्षा गुल्ममा तैनाथ रहनेछ र मुख्य सीमा नाकाहरूमा नियमित रूपमा परिचालित भई सीमा सुरक्षासम्बन्धी जिम्मेवारी निर्वाह गर्नेछ।
आइतबार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्ममा पुगेर टोलीको औपचारिक परिचालनको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले टोलीलाई आवश्यक निर्देशन दिनुका साथै सीमा क्षेत्रमा भइरहेका दैनिक गतिविधिबारे जानकारी समेत लिनुभएको सशस्त्र प्रहरीले जनाएको छ।
बीआईटीले विशेष गरी सीमा वारपार गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवश्यक सहजीकरण गर्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र उद्धारमा सहयोग पुर्याउने, प्रतिबन्धित लागू औषध, वन्यजन्तु तथा अन्य अवैध सामग्रीको निगरानी, जाँच र नियन्त्रणलाई प्रभावकारी बनाउने जिम्मेवारी निर्वाह गर्नेछ।
यसका अतिरिक्त सीमा क्षेत्रमा कार्यरत अन्य सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गर्दै सम्भावित आपराधिक गतिविधिको रोकथाम, सूचना संकलन तथा आवश्यक अपरेसनमा समेत टोलीले सहयोग गर्ने अपेक्षा गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार नै अन्य सीमा नाकाहरूमा पनि सम्बन्धित बाहिनीका बाहिनी पतिहरूले बीआईटी परिचालनको शुभारम्भ गरेका छन्। मुख्य सीमा नाकामा परिचालित टोली प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट) मा खटिने व्यवस्था गरिएको छ।






