काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीले युवापुस्ताको अपेक्षा र भावना प्रभावकारी रूपमा सम्बोधन गर्न नसकेको स्वीकार गर्दै संगठनभित्र वैचारिक तथा संगठनात्मक रूपान्तरण आवश्यक रहेको बताएका छन्।
लुम्बिनी प्रदेश कमिटीद्वारा आइतबार आयोजित ‘मिशन पार्टी जागरण अभियान’ को शुभारम्भ कार्यक्रममा बोल्दै पोखरेलले पार्टीभित्र रहेका कमजोरीबारे आत्मसमीक्षा गर्दै शुद्धीकरण र पुनर्गठनको प्रक्रियालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले पार्टी र कार्यकर्ताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर आवश्यक निर्णय लिन आफू तयार रहेको उल्लेख गर्दै संगठनलाई समयानुकूल ढंगले अघि बढाउन खुला सोच आवश्यक पर्ने बताए।
महासचिव पोखरेलका अनुसार सामाजिक सञ्जालमार्फत एमालेका गतिविधिबारे नकारात्मक भाष्य निर्माण भएकाले सरकारले गरेका सकारात्मक कामसमेत प्रभावकारी रूपमा जनतासम्म पुग्न नसकेको अवस्था रहेको छ।
उनले जनताको भावना, बदलिएको राजनीतिक परिवेश तथा प्रतिस्पर्धाको स्वरूपलाई सही रूपमा मूल्यांकन गर्न पार्टी चुकेको स्वीकार गरे। यिनै कारणले संगठनलाई थप प्रभावकारी बनाउन आत्मसमीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
प्रदेश सरकार गठनसम्बन्धी विकसित राजनीतिक समीकरणबारे बोल्दै पोखरेलले नेपाली काँग्रेससँग सहकार्य गर्ने पक्षमा एमाले रहे पनि काँग्रेसभित्रको आन्तरिक असहमतिका कारण त्यसो हुन नसकेको दाबी गरे। उनले प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग भएको सहकार्य परिस्थितिजन्य बाध्यताको परिणाम रहेको उल्लेख गरे ।
सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै महासचिव पोखरेलले वर्तमान सरकार लोकप्रियतावाद र अराजकतावादमा आधारित रहेको आरोप लगाए। यस्ता विषय जनस्तरसम्म स्पष्ट रूपमा पुर्याउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय हुन उनले निर्देशन दिए।






